कञ्चनपुर — विगतमा बजार नपाएर बारीमै कुहिने फूल यस वर्ष तिहार आउनुअघि नै बिक्री हुन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् । फूलको अग्रिम माग र बुकिङ आउन थालेपछि उत्पादन बढाएका व्यवसायीले यसपटक राम्रो आम्दानी हुने अपेक्षा गरेका छन् ।
भीमदत्त नगरपालिका–१ की सिर्जना जोशी सात वर्षदेखि पुष्प व्यवसायमा संलग्न छिन् । विगतमा फूल उत्पादन गरेर पनि बजार नपाउँदा ठूलो घाटा बेहोर्नुपरेको उनको अनुभव छ । तर, गत वर्षदेखि स्थानीय फूलले बजार पाउन थालेपछि यस वर्ष उनले खेती विस्तार गरेकी छन् ।
“दुई वर्षअघिसम्म फूल उत्पादन गरे पनि बजार नपाउँदा बारीमै कुहिने समस्या भोग्यौँ”, जोशीले भनिन्, “गत वर्ष फूलले बजार पाएपछि राम्रो आम्दानी भयो । यस वर्ष तिहारअघि नै बुकिङ आउन थालेको छ, त्यसैले उत्साहित छौँ ।”
उनका अनुसार अहिलेसम्म २० किलो फूलको अग्रिम बुकिङ भइसकेको छ । यसपटक तिहारमा चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्य राखेकी उनले प्रतिकिलो ५०० रुपैयाँका दरले फूल बिक्री गर्दै आएकी छन् ।
तीन सय बोट फूल रोपेर व्यवसाय सुरु गरेकी जोशी अहिले १५ कट्ठा जग्गामा फूलखेती गरिरहेकी छन् । वार्षिक ३० हजार रुपैयाँ भाडा तिर्ने गरी जग्गा लिएर व्यवसाय सञ्चालन गर्दै आएकी उनले विगतमा बजार अभावकै कारण ठूलो क्षति बेहोर्नुपरेको थियो ।
“दोस्रो वर्ष एक हजार बोट फूल लगाएँ, तर बजार नपाउँदा सबै कुहियो । अर्को वर्ष चार हजार बोट लगाएर बिक्रीका लागि काठमाडौँ पठाउँदा बाटोमै फूल कुहियो”, उनले भनिन्, “दुई वर्षअघि पनि बिक्री नभएर दुई क्विन्टल फूल खेर गएको थियो ।”
गत वर्ष १० कट्ठा जग्गामा गरिएको फूलखेतीबाट खर्च कटाएर डेढ लाख रुपैयाँ आम्दानी भएको उनले बताइन् । स्थानीय प्रशासनले प्लास्टिकका माला प्रयोगमा रोक लगाउनुका साथै भारतबाट आउने फूलमा प्रतिबन्ध लगाएपछि स्थानीय उत्पादनले बजार पाउन सहयोग पुगेको उनको भनाइ छ ।
“गत वर्ष फूलले बजार पाएपछि यस वर्ष खेती बढाएको छु । विगतमा बेहोरेको घाटा पनि यस वर्ष नाफामा परिणत हुने आशा छ”, जोशीले भनिन् । उनले तिहारमा मात्र नभई अन्य चाडपर्व, विवाह तथा सांस्कृतिक कार्यक्रममा पनि स्थानीयस्तरमै उत्पादित फूल प्रयोग गर्न आग्रह गरिन् ।
परम्परागत खेतीको तुलनामा फूलखेतीबाट तीन गुणासम्म बढी आम्दानी गर्न सकिने सम्भावना देखेपछि आफू यस व्यवसायमा लागेको उनले बताइन् ।
फूलखेतीमा नयाँ व्यवसायीको आकर्षण:
कञ्चनपुरमा फूलको माग बढ्न थालेपछि नयाँ व्यवसायी पनि यसतर्फ आकर्षित हुन थालेका छन् । भीमदत्त नगरपालिका–१५ का मेघा रावलले आफ्नै चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूलखेती गरेका छन् ।
रावलले यस वर्ष तिहारमा फूल बिक्रीबाट एक लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेका छन् । उनका अनुसार फूलखेतीमा करिब २५ हजार रुपैयाँ लागत लागेको छ ।
“अहिले स्थानीयस्तरमा उत्पादन भएको फूलको माग बढेको छ”, उनले भने, “यसपटक फूलले राम्रो बजार पाए अर्को वर्षदेखि खेती विस्तार गर्ने योजना छ ।”
स्थानीय फूलले बजार पाउँदा व्यवसायीलाई राहत:
तिहारमा सयपत्री फूलको माला, पूजाआजा र घर सजावटमा व्यापक प्रयोग हुने भएकाले यसको माग बढ्ने गरेको छ । विवाह तथा विभिन्न सांस्कृतिक कार्यक्रममा समेत सयपत्री फूलको प्रयोग हुने भएकाले पुष्प व्यवसायीले चाडपर्वबाहेक अन्य समयको बजारलाई पनि लक्षित गर्दै खेती गर्दै आएका छन् ।
विगतमा बजार अभाव, ढुवानीका क्रममा फूल कुहिने र बिक्री नहुने समस्याले निराश बनेका व्यवसायी अहिले अग्रिम माग आउन थालेपछि उत्साहित छन् । स्थानीय उत्पादनले बजार पाउने वातावरण निरन्तर कायम रहे फूलखेती आम्दानीको भरपर्दो माध्यम बन्न सक्ने उनीहरूको अपेक्षा छ ।
यस वर्षको तिहारमा फूलको माग र बिक्रीले कस्तो परिणाम दिन्छ भन्ने हेर्न बाँकी रहे पनि अग्रिम बुकिङ सुरु हुनुले कञ्चनपुरका पुष्प व्यवसायीमा नयाँ आशा जगाएको छ ।