गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले सार्वजनिक गर्‍यो १०० दिनको प्रगति विवरण - Chaitanya News
  • 2026-10-29
  • 11:48:45
  • बिहिबार,कार्तिक १३, २०८३
  • गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले सार्वजनिक गर्‍यो १०० दिनको प्रगति विवरण

    गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयले सार्वजनिक गर्‍यो १०० दिनको प्रगति विवरण

    धनगढी: कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले नयाँ पदाधिकारी नियुक्तिपछिको एक सय दिनमा हासिल गरेका प्रगति सार्वजनिक गरेको छ। विश्वविद्यालयले यस अवधिमा चार शैक्षिक कार्यक्रम सञ्चालनका लागि ९० सिट स्वीकृत गराउन, शिक्षण अस्पतालमा ६२२ शय्या व्यवस्थापन गर्न र छात्रवृत्तिका लागि सात करोड ३९ लाख ३९ हजार रुपैयाँको स्रोत सुनिश्चित गर्न सफल भएको जनाएको छ।

    विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द नियुक्त भएको एक सय दिन पुगेको अवसरमा बुधबार प्रगति विवरण सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणमा संस्थागत विकास, शैक्षिक कार्यक्रमको स्वीकृति, शिक्षण अस्पतालको सुदृढीकरण, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकासका क्षेत्रमा भएका उपलब्धि समेटिएका छन्।

    उपकुलपति डाक्टर जोशीले नेपाल सरकारको निर्णयपछि विभिन्न चुनौतीका बाबजुद विश्वविद्यालयले नीतिगत, प्रशासनिक, शैक्षिक तथा चिकित्सकीय क्षेत्रमा योजनाबद्ध रूपमा काम अघि बढाएको बताए।

    सुदूरपश्चिम प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय, सर्वसुलभ तथा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानको केन्द्रका रूपमा विश्वविद्यालयलाई विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्यअनुसार आफूहरू प्रतिबद्ध भएर लागिरहेको उनले बताए।

    चार शैक्षिक कार्यक्रमका लागि ९० सिट स्वीकृत
    विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट चार शैक्षिक कार्यक्रम सञ्चालनका लागि कुल ९० सिट स्वीकृत गराएको जनाएको छ।

    प्रगति विवरणअनुसार एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी एमएलटीमा १० र ब्याचलर अफ अप्टोमेट्रीमा १० सिट स्वीकृत भएका छन्।

    चिकित्सा शिक्षामा आर्थिक रूपमा कमजोर तथा योग्य विद्यार्थीको पहुँच सुनिश्चित गर्न स्वीकृत शैक्षिक कार्यक्रमका लागि ७५ प्रतिशत छात्रवृत्ति व्यवस्थापन गर्ने उद्देश्यले सात करोड ३९ लाख ३९ हजार रुपैयाँको स्रोत सुनिश्चित गरिएको विश्वविद्यालयले जनाएको छ।

    विश्वविद्यालयले चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानको राष्ट्रिय र अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित संस्थागत संरचना, नीतिगत आधार, शैक्षिक कार्यक्रम, अस्पताल सेवा र जनशक्ति व्यवस्थापनका काम अघि बढाएको छ।

    संस्थागत संरचना र नीतिगत आधार तयार
    विश्वविद्यालयलाई व्यवस्थित, पारदर्शी, जवाफदेही तथा संस्थागत रूपमा सक्षम बनाउन सङ्गठनात्मक संरचना तयार गर्नुका साथै विभिन्न नियमावली पुनरावलोकन गरिएको प्रगति विवरणमा उल्लेख छ।

    विश्वविद्यालय सभा सञ्चालन कार्यविधि, शिक्षक तथा कर्मचारी नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, खरिद नियमावली, पदाधिकारीको पारिश्रमिक तथा सुविधासम्बन्धी नियमावली र विषय समिति नियमावली पुनरावलोकन गरिएको छ।

    यसैगरी प्राज्ञ तथा विज्ञहरूको सेवा, सुविधा र पारिश्रमिकसम्बन्धी व्यवस्था तथा सङ्गठन र व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्वेक्षण) पनि पुनरावलोकन गरिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयको आधिकारिक झण्डा तथा छापसमेत तयार गरिएको विवरणमा उल्लेख छ।

    गेटामा रहेको अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा रूपान्तरण गर्ने सरकारको निर्णयसँगै आवश्यक संस्थागत संरचना निर्माण र व्यवस्थापनको काम अघि बढाइएको छ।

    शिक्षण अस्पतालमा ६२२ शय्या, सेवा विस्तारको तयारी
    विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा हाल विभिन्न विभागमा गरी ६२२ शय्या रहेको प्रगति विवरणमा उल्लेख छ। चिकित्सा शिक्षा आयोगको ३०० शय्याको मापदण्डका सन्दर्भमा विश्वविद्यालयले अस्पतालको सेवा क्षमता विस्तारको काम अघि बढाएको जनाएको छ।

    हाल अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति रोग, बालरोग, मानसिक रोग, छालारोग, नाक–कान–घाँटी, न्युरोलोजी, दन्तरोगलगायतका विभागमा सेवा सञ्चालनमा छन्।

    अस्पतालमा आकस्मिक उपचार, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), बाल सघन उपचार कक्ष (पीआईसीयू), उच्च निर्भरता उपचार कक्ष (एचडीयू), शल्यक्रिया कक्ष तथा शल्यक्रियापछिको उपचार सेवा उपलब्ध रहेको विवरणमा उल्लेख छ।

    त्यस्तै, प्याथोलोजी, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड, इसिजी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी र फार्मेसीलगायतका सेवा सञ्चालनमा ल्याइएको विश्वविद्यालयले जनाएको छ।

    अस्पतालको सेवा क्षमता विस्तारका लागि रक्षा मन्त्रालयमार्फत प्राप्त ५०० थान शय्या इन्डोर वार्ड, आईसीयू तथा आकस्मिक कक्षमा व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ।

    आगामी दिनमा आवश्यक जनशक्ति र उपकरणसहित शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने विश्वविद्यालयको योजना छ। यसका साथै क्याथ ल्याब स्थापना गरी मुटुरोगसम्बन्धी विशिष्टीकृत उपचार सेवा विकास गर्ने तथा बर्न युनिट र ट्रमा सेन्टर स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ।

    सिटी स्क्यान, एमआरआई, डायलाइसिस, युरोलोजी तथा क्यान्सर रोगसम्बन्धी सेवा विस्तारलाई पनि प्राथमिकतामा राखिएको विश्वविद्यालयले जनाएको छ।

    ५४४ स्वीकृत दरबन्दीमध्ये ४०० जना कार्यरत
    विश्वविद्यालय तथा शिक्षण अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको प्रगति विवरणमा उल्लेख छ।

    विश्वविद्यालयमा ५४४ स्वीकृत दरबन्दी रहेकामा हाल ४०० जना कार्यरत छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीसहित थप १५१ जनाको छनोट प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ।

    विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ जनशक्ति, प्रयोगशाला तथा रेडियोलोजी प्राविधिकलगायत आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको छ।

    चिकित्सा शिक्षाको गुणस्तर सुनिश्चित गर्न आधारभूत विज्ञानका विभाग तथा शैक्षिक प्रयोगशालाको तयारीलाई पनि प्राथमिकता दिइएको छ। आवश्यक प्राध्यापक तथा सहायक जनशक्तिको व्यवस्था, प्रयोगशालाका लागि न्यूनतम मापदण्ड निर्धारण तथा उपकरण र शैक्षिक सामग्रीको पहिचान गरिएको विवरणमा उल्लेख छ।

    विद्यार्थी भर्नाअघि पठनपाठनका लागि आवश्यक थप उपकरण खरिद तथा जडान गर्ने योजना पनि अघि बढाइएको छ।

    पूर्वाधार र विशिष्टीकृत सेवामा लगानीको तयारी
    विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरेको बजेट तथा कार्यक्रममा क्याथ ल्याब, बर्न युनिट, सिटी स्क्यान तथा एमआरआई, डायलाइसिस सेवा र ब्लड बैंक स्थापना गर्ने योजनालाई प्राथमिकतामा राखेको छ।

    यसैगरी युरोलोजी, अर्थोपेडिक्स र प्रसूति शल्यक्रिया कक्षलगायतका सेवा विस्तारलाई पनि प्राथमिकताका साथ अघि बढाइएको विश्वविद्यालयले जनाएको छ।

    विश्वविद्यालयले स्वास्थ्य सेवा विस्तारसँगै अस्पताल तथा परिसरलाई स्वच्छ, हरियालीयुक्त र बिरामीमैत्री बनाउने अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ।

    नयाँ पदाधिकारीको नेतृत्वमा सार्वजनिक गरिएका यी प्रगतिका आधारमा विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालन, अस्पतालको क्षमता विस्तार, जनशक्ति व्यवस्थापन र आवश्यक पूर्वाधार निर्माणलाई एकसाथ अघि बढाएको देखिन्छ। आगामी दिनमा स्वीकृत शैक्षिक कार्यक्रमअनुसार पठनपाठन सुरु गर्ने र विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गर्ने काम विश्वविद्यालयका लागि महत्त्वपूर्ण हुनेछ।