भारी वर्षा र हिमपातको जोखिम, दुई दिन सतर्क रहन मौसमविद्को आग्रह - Chaitanya News
  • 2026-10-29
  • 12:52:07
  • बिहिबार,कार्तिक १३, २०८३
  • भारी वर्षा र हिमपातको जोखिम, दुई दिन सतर्क रहन मौसमविद्को आग्रह

    भारी वर्षा र हिमपातको जोखिम, दुई दिन सतर्क रहन मौसमविद्को आग्रह

    काठमाडौँ– भारतमा सक्रिय चक्रवात ‘अर्नब’ कमजोर बन्दै गए पनि त्यसको प्रभावका कारण नेपालमा वर्षा र हिमपातको जोखिम कायमै रहेको छ। मौसम प्रतिकूल बन्ने पूर्वानुमानसँगै मौसम पूर्वानुमान महाशाखाले धानबाली नकाट्न, पदयात्रा नगर्न तथा पर्वतारोहणका गतिविधि स्थगित गर्न आग्रह गरेको छ।

    महाशाखाका अनुसार आगामी दुई दिन देशका विभिन्न भूभागमा वर्षा र हिमपातको प्रभाव बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रका लागि उच्च सतर्कताको चेतावनी जारी गरिएको छ।

    मौसमविद् हरिप्रसाद दाहालका अनुसार जमिनमा प्रवेश गरेपछि कमजोर बनेको चक्रवात ‘अर्नब’ अहिले ‘डिप्रेसन’ को अवस्थामा भारतको छत्तीसगढ आसपास तथा आन्ध्र प्रदेशको उत्तर–पश्चिमी भूभागमा रहेको छ। उक्त मौसमी प्रणालीको अवशेषका कारण नेपालमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना बढेको हो।

    आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात तथा कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ।

    आज रातिदेखि भने वर्षा र हिमपातको गतिविधि थप सक्रिय हुने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमाली भूभागमा हिमपात हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत वर्षा र हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै मधेस र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। शुक्रबार र शनिबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको चेतावनी नक्सामा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रलाई रातो रङमा देखाइएको छ। ती क्षेत्रमा भारी हिमपातको जोखिम रहेकाले यात्रा तथा अन्य गतिविधि गर्दा विशेष सावधानी अपनाउनुपर्ने महाशाखाले जनाएको छ।

    वर्षा र हिमपातको सम्भावना धानबाली भित्र्याउने किसान तथा पदयात्रा र पर्वतारोहणमा जानेहरूका लागि चुनौती बन्न सक्ने देखिएको छ। यही जोखिमलाई ध्यानमा राख्दै मौसमविद् दाहालले आगामी दुई दिन धान नकाट्न र पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेका छन्।

    मौसमको अवस्था छिनछिनमै परिवर्तन हुन सक्ने भएकाले नियमित काम तथा यात्रा तय गर्नुअघि मौसम पूर्वानुमान महाशाखाको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत जारी हुने अद्यावधिक सूचना हेर्न पनि महाशाखाले अनुरोध गरेको छ।