काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेको काठमाडौंले ब्याटिङ रोजेपछि जनकपुरले पहिले बलिङ गर्नेछ।
काठमाडौंका कप्तान करण केसीले अहिलेको खेल परिस्थितिमा लक्ष्य पछ्याउनुभन्दा विपक्षी टोलीसामु राम्रो लक्ष्य प्रस्तुत गर्नु सहज हुने विश्वासका साथ ब्याटिङ रोजेका हुन्।
काठमाडौं गोर्खाज आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ। टोली जितका साथ सिजनको सुरुआत गर्ने लक्ष्यमा छ। उता, जनकपुर बोल्ट्स भने यसअघिको खेलमा पराजित भइसकेकाले आज पहिलो जित निकाल्ने प्रयासमा हुनेछ।
जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन्। आजको खेलमा जनकपुरले जिमी निसमलाई भने प्लेइङ सेटमा समावेश नगरी बेन्चमा राखेको छ।
पहिलो खेलमै जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको काठमाडौं र पहिलो जितको खोजीमा रहेको जनकपुरबीचको प्रतिस्पर्धालाई एनपीएलमा महत्त्वका साथ हेरिएको छ।