सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालयमा बोलाइयो - Chaitanya News
  • 2026-10-29
  • 13:11:09
  • बिहिबार,कार्तिक १३, २०८३
  • सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालयमा बोलाइयो

    सातै प्रदेशका डीआईजीलाई प्रहरी मुख्यालयमा बोलाइयो

    काठमाडौं– नेपाल प्रहरीका सातै प्रदेशमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालयमा बोलाइएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डीआईजीहरूलाई मुख्यालय बोलाएका हुन्।

    आईजीपी कार्कीले प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएको समयमा सातै प्रदेशका डीआईजीलाई समेत मुख्यालय उपस्थित हुन भनिएको हो। पीसीसीको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।

    पीसीसी बैठकमा सामान्यतया डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने गर्छन्। त्यसैले डीआईजीहरूलाई समेत मुख्यालय बोलाइनुको कारणबारे चासो बढेको छ। यद्यपि, उनीहरूलाई बोलाउनुको उद्देश्यबारे आधिकारिक रूपमा केही खुलाइएको छैन।

    प्रहरी उच्च स्रोतका अनुसार डीआईजीहरूलाई मंगलबार नै काठमाडौं आउन भनिएको थियो। सोही निर्देशनअनुसार केही डीआईजी प्रहरी प्रधान कार्यालय पुगिसकेका छन् भने केही आउने क्रममा छन्।

    ‘डीआईजीहरूलाई हिजो नै आउन भनिएको थियो। त्यसअनुसार केही आइसक्नुभएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो।

    पीसीसी बैठक र सातै प्रदेशका डीआईजीलाई एकै समयमा मुख्यालय बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिए पनि यसबारे थप विवरण सार्वजनिक भएको छैन।