चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 12 of 1153
  • 2026-11-22
  • 17:01:55
  • आइतबार,मंसिर ०७, २०८३

About Author

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न

महोत्तरी– तराई मधेशसहित देशका विभिन्न स्थानमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथीदेखि सुरु भएको चारदिने सूर्य उपासनाको पर्व आज सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको हो । महोत्तरीलगायत तराई मधेशका विभिन्न जिल्लामा बिहानैदेखि छठ घाटमा बर्तालु तथा श्रद्धालुको भीड लागेको थियो । सूर्योदय हुनासाथ व्रतालुहरूले जलाशयमा उभिएर श्रद्धा र भक्तिपूर्वक सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए । यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइएको थियो । छठ पर्वको मुख्य विधिअन्तर्गत साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परालाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ भने बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ । चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरेका व्रतालुहरू बिहानको अर्घ्यपछि छठ घाटबाट घर फर्किएका छन् । पर्वको सुरुआत चौथी तिथिका दिन पवित्र स्नान गरी शुद्ध भोजन ग्रहण गर्दै ‘नहाय–खाय’ विधिबाट भएको थियो । त्यसपछि पञ्चमीका दिन राति एक छाक मात्र अलिनो भोजन गरी ‘खरना’ विधि सम्पन्न गरिएको थियो । छठ पर्व सम्पन्न भएपछि व्रतालुहरूले दीनदुःखी तथा आशामुखीलाई अन्न र वस्त्र दान गर्ने तथा प्रसाद ग्रहण गर्ने परम्परा छ । यससँगै परिवार, आफन्त र इष्टमित्रबीच छठको प्रसाद बाँड्ने क्रम सुरु हुन्छ । छठमा सूर्यदेवलाई चढाइएका ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा माटोका भाँडामा जमाइएको दहीलाई विशेष प्रसादका रूपमा ग्रहण गरिन्छ । मिथिला क्षेत्रमा छठको प्रसाद आफन्त र इष्टमित्रकहाँ ‘भार’ अर्थात् सोलीमा राखेर पठाउने चलनसमेत रहेको छ । विशेषगरी छोरीचेली, फुपू, मित तथा अन्य नातेदारकहाँ प्रसाद पुर्‍याउने मैथिल परम्परा छ । यसरी प्रसाद खाने र खुवाउने क्रम मिथिलामा महिनौँसम्म चल्ने गर्दछ । छठ पर्वको व्रत र सूर्यदेवको उपासनाबाट परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने तथा रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

News by उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न :