काठमाडौँ – अब नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ। सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ मार्फत नागरिकलाई आफू बसेकै अन्य जिल्लाबाट समेत नागरिकताको प्रतिलिपि लिन सक्ने व्यवस्था गरेको छ।
नयाँ व्यवस्थाअनुसार नागरिकताको प्रमाणपत्र आगलागी वा पानीका कारण नष्ट भएको, च्यातिएर प्रयोग गर्न नमिल्ने भएको, हराएको वा नयाँ ढाँचाको नागरिकता आवश्यक परेको अवस्थामा अन्य जिल्लाबाटै प्रतिलिपि लिन सकिनेछ।
नियमावलीको नियम १६घ मा गरिएको व्यवस्थाअनुसार प्रतिलिपि लिन इच्छुक व्यक्तिले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची–१८ बमोजिम निवेदन दिनुपर्नेछ।
निवेदन दिँदा नागरिकता च्यातिएर काम नलाग्ने भएको वा नयाँ ढाँचामा परिवर्तन गर्नुपर्ने अवस्थामा सक्कल नागरिकता पेस गर्नुपर्नेछ। आगलागी, पानी वा अन्य कारणले नष्ट भएको अथवा हराएको अवस्थामा भने उपलब्ध नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्ने व्यवस्था छ।
त्यस्तै, निवेदनसँग राष्ट्रिय परिचयपत्रको प्रतिलिपि वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पनि अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
डिजिटल प्रणालीबाट विवरण प्रमाणीकरणपछि मात्रै प्रतिलिपि
नयाँ व्यवस्थामा नागरिकताको प्रतिलिपि जारी गर्नुअघि विवरणको डिजिटल प्रमाणीकरणलाई अनिवार्य गरिएको छ।
प्रमुख जिल्ला अधिकारीले सबैभन्दा पहिले निवेदकले उपलब्ध गराएको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग भिडाउनुपर्नेछ। त्यसपछि निवेदकको जैविक विवरण संकलन गरी राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको विवरणसँग समेत प्रमाणीकरण गरिनेछ।
दुवै प्रणालीबाट विवरण सही भएको पुष्टि भएपछि मात्रै नागरिकता सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध अभिलेखअनुसार नागरिकताको प्रतिलिपि जारी गर्न सकिनेछ।
यो व्यवस्थाले नागरिकता जारी भएको जिल्ला टाढा भएका तथा विभिन्न कारणले प्रतिलिपि लिन समस्या भोगिरहेका नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
