काठमाडौँ– मिथिलाञ्चलको सांस्कृतिक पहिचान बोकेको छठ पर्वले जनकपुरधामलाई उल्लासमय बनाएको छ । पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेवको उपासना गरिरहेका छन् ।
छठको अवसरमा जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयहरू बेहुलीझैँ सिँगारिएका छन् । घाटहरूमा पूजाका सामग्री, फलफूल, बाँसका सामग्री तथा घरमै तयार पारिएका प्रसादले सजावट गरिएको छ । बिहानैदेखि घाटमा श्रद्धालुहरूको आवतजावत बढेको छ भने साँझपख अर्घ्य दिन व्रतालु तथा भक्तजनहरूको ठूलो उपस्थिति देखिएको छ ।
आस्था, अनुशासन र पवित्रताको प्रतीक मानिने छठ पर्व मैथिली संस्कृति र परम्परासँग अभिन्न रूपमा जोडिएको छ । यस पर्वमा षष्ठी परमेश्वरीको पूजा गर्दै परिवारको सुख, शान्ति, समृद्धि, आरोग्य र समाजको कल्याणको कामना गरिन्छ । धार्मिक विश्वासअनुसार छठको सम्बन्ध महाभारतकालीन कर्ण र द्रौपदीदेखि त्रेतायुगकी माता सीतासम्मका प्रसङ्गसँग जोडिएको पाइन्छ ।
छठको विशेष पक्ष धार्मिक आस्थासँगै सामाजिक सद्भाव र समानताको सन्देश पनि हो । जातजाति, धर्म, समुदाय र आर्थिक अवस्थाको विभेद नगरी सबैजना एउटै घाटमा भेला भएर सूर्यको आराधना गर्ने परम्पराले यस पर्वलाई अझ विशिष्ट बनाएको छ । जनकपुरधाममा विभिन्न समुदायका मानिसहरू एकै ठाउँमा भेला भएर पर्व मनाउने गर्छन् । स्थानीयका अनुसार केही मुस्लिम समुदायका व्यक्तिहरूले समेत छठमा सहभागिता जनाउँदै आएका छन् ।
प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा समेत छठलाई लिइन्छ । सूर्य र जलको पूजा गरिने यस पर्वमा ठकुवा, भुसुवा, फलफूललगायतका प्रसाद चढाउने गरिन्छ । बजारबाट किनिएका सामग्रीभन्दा घरमै शुद्धता र विधिपूर्वक तयार पारिएका परिकारलाई विशेष प्राथमिकता दिइन्छ । व्रतालुहरूले कठोर उपवास र विभिन्न धार्मिक नियम पालना गर्दै श्रद्धापूर्वक पर्व मनाउने गर्छन् ।
पाँच दिनसम्म मनाइने छठ पर्व नहाय–खायबाट सुरु भई खरनासम्मका विधि पूरा गरेपछि मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । आज साँझको अर्घ्यपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ । त्यससँगै छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।
अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने छठले जीवनका हरेक उतारचढावलाई स्वीकार गर्दै आशा र सकारात्मकताका साथ अघि बढ्नुपर्ने सन्देश दिने धार्मिक मान्यता छ । यतिबेला जनकपुरधामका घाटहरूमा देखिएको भक्तिभाव, सांस्कृतिक उत्साह र सामूहिक सहभागिताले छठलाई केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानको उत्सवका रूपमा समेत स्थापित गरेको छ ।