काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजले कर्णाली याक्स तथा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछन्।
आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। उक्त खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। अंक तालिकामा चौथो स्थानमा रहेको चितवनले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। सातौँ स्थानमा रहेको कर्णाली भने आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।
त्यस्तै, आजको दोस्रो खेल दिउँसो ४ः३० बजे काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सबीच हुनेछ। अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौँ पनि प्लेअफमा पुगिसकेको टोली हो। तालिकाको अन्तिम स्थानमा रहेको पोखराका लागि भने आजको खेल प्रतिस्पर्धात्मक चुनौती हुनेछ।
प्लेअफमा स्थान बनाइसकेका चितवन र काठमाडौँ आफ्नो प्रदर्शनलाई थप मजबुत बनाउने लक्ष्यमा रहँदा कर्णाली र पोखरा पनि सुखद नतिजा निकाल्ने प्रयासमा मैदान उत्रनेछन्।