छठले सामाजिक एकता र सद्भाव बढाउँछ : मुख्यमन्त्री आचार्य - Chaitanya News
  • 2026-11-15
  • 08:31:57
  • आइतबार,कार्तिक ३०, २०८३
  • छठले सामाजिक एकता र सद्भाव बढाउँछ : मुख्यमन्त्री आचार्य

    छठले सामाजिक एकता र सद्भाव बढाउँछ : मुख्यमन्त्री आचार्य

    दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले नेपाली समाजमा सामाजिक एकता, आपसी सद्भाव र सहअस्तित्वको भावनालाई बलियो बनाउने बताएका छन्। उनले विविध धर्म, संस्कृति र परम्परालाई सम्मान गर्दै राष्ट्रिय एकता तथा समृद्धिको साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गरेका छन्।

    छठ पर्व २०८३ को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मुलुकमा देखिएका राजनीतिक, सामाजिक तथा आर्थिक चुनौती समाधानका लागि आपसी संवाद, सहकार्य र साझा समझदारी आवश्यक रहेको बताएका हुन्।

    उनका अनुसार छठ पर्व धार्मिक आस्था र परम्परासँग मात्र सीमित नभई प्रकृति संरक्षण, समानता, सहिष्णुता र सामाजिक एकताको सन्देश दिने महत्वपूर्ण सांस्कृतिक पर्व हो। सूर्यले सबै प्राणीलाई कुनै भेदभाव नगरी समान रूपमा प्रकाश र ऊर्जा प्रदान गरेझैँ समाजमा पनि सबैप्रति समान व्यवहार र सहकार्यको भावना विकास हुनुपर्ने उनले उल्लेख गरेका छन्।

    अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई उजागर गर्नुका साथै अनुशासन, निष्ठा, त्याग र समर्पणको महत्त्वसमेत सिकाउने मुख्यमन्त्री आचार्यको भनाइ छ।

    पहिले मुख्य रूपमा तराई तथा मधेश क्षेत्रमा विशेष उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा समेत विस्तार हुँदै जानु नेपाली समाजको सांस्कृतिक विविधता र आपसी सहअस्तित्वको सकारात्मक उदाहरण भएको उनले बताएका छन्।

    मुख्यमन्त्री आचार्यले समाजमा विद्यमान विभेद, कुरीति र विकृति अन्त्य गर्दै न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

    यसैगरी लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्रका मौलिक कला, संस्कृति, भाषा, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिएका छन्। ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य हासिल गर्न सामाजिक सद्भाव, सांस्कृतिक एकता र समावेशी विकासलाई सँगसँगै अघि बढाउने प्रदेश सरकारको प्रतिबद्धता रहेको उनको भनाइ छ।

    अन्त्यमा मुख्यमन्त्री आचार्यले छठ पर्वले सबैमा सकारात्मक सोच, पारिवारिक सुख, शान्ति र समृद्धिको ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।