छठ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक पहिचान बलियो बनाउँछ : उपराष्ट्रपति यादव - Chaitanya News
  • 2026-11-15
  • 08:34:42
  • आइतबार,कार्तिक ३०, २०८३
  • छठ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक पहिचान बलियो बनाउँछ : उपराष्ट्रपति यादव

    छठ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक पहिचान बलियो बनाउँछ : उपराष्ट्रपति यादव

    काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ महापर्वले नेपाली समाजमा सांस्कृतिक आत्मीयता, सामाजिक सद्भाव र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताएका छन्।

    छठ महापर्व २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हिमाल, पहाड र मधेसका नागरिकलाई एउटै सांस्कृतिक सूत्रमा जोड्न यस्ता पर्वको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका हुन्।

    उपराष्ट्रपति यादवका अनुसार छठ पर्व मानव, प्रकृति र सृष्टिबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने नेपाली समाजको विशिष्ट सांस्कृतिक अनुष्ठान हो। सूर्यलाई जीवन र ऊर्जाको स्रोतका रूपमा पूजा गर्दै अर्घ्य अर्पण गर्ने परम्पराले प्रकृतिप्रति कृतज्ञता, संयम, शुद्धता र समर्पणको भावना विकास गराउने उनले बताएका छन्।

    अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सम्मान गर्ने र उदाउँदो सूर्यको स्वागत गर्ने परम्पराले जीवनका विभिन्न अवस्था, संघर्ष र सम्भावनालाई समान रूपमा सम्मान गर्न सिकाउने उनको भनाइ छ। नहाय–खाय, खरना, सन्ध्या अर्घ्य र उषा अर्घ्यजस्ता विधिले आत्मअनुशासन, धैर्य, श्रद्धा तथा आध्यात्मिक शुद्धताको अभ्यास गराउने उनले उल्लेख गरेका छन्।

    उनले छठलाई धार्मिक पूजाआराधनामा मात्र सीमित नभई सामाजिक समरसता र सहअस्तित्वको उत्सवका रूपमा व्याख्या गरेका छन्। बाँसका डाला, सुपली, माटाका भाँडा, स्थानीय फलफूल तथा अन्नको प्रयोगले स्थानीय उत्पादन, श्रम संस्कृति र परम्परागत ज्ञानको संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ।

    त्यसैगरी ठेकुवा, भुसुवा, पिरुकिया र खजुरियालगायत परम्परागत परिकारले मौलिक खानपान संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने उपराष्ट्रपति यादवले बताएका छन्। विभिन्न समुदाय, पेसा र वर्गका मानिसको साझा सहभागिताले छठलाई आपसी सहयोग र सामाजिक एकताको उदाहरणीय पर्व बनाएको उनले उल्लेख गरेका छन्।

    छठ पर्व नदी, पोखरी, तलाउ तथा जलाशयको सरसफाइ र संरक्षणसँग समेत जोडिएकाले यसले वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। प्राकृतिक स्रोतको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको सन्देश पनि यस पर्वले दिने उनले बताएका छन्।

    उपराष्ट्रपति यादवले छठ पर्वले नेपाली समाजमा सत्य, सेवा, सदाचार, अनुशासन र सहकार्यको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै सूर्यदेव र छठी माताको कृपाले सम्पूर्ण नेपालीको जीवनमा आशा, उत्साह, सुस्वास्थ्य, सुख र सफलताको उज्यालो फैलियोस् भन्दै शुभकामना दिएका छन्।