छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै - Chaitanya News
  • 2026-11-15
  • 08:47:29
  • आइतबार,कार्तिक ३०, २०८३
  • छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    महोत्तरी — लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दैछन्। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्परासहित मनाइने छठ पर्वको आज मुख्य दिन हो।

    कात्तिक शुक्ल चतुर्थीबाट सुरु भएको पर्वमा व्रतालुहरूले शनिबार राति खरना विधि सम्पन्न गरेका छन्। खरना सम्पन्न गरेसँगै उनीहरू निराहार व्रतमा बसेका छन्। यसअघि शुक्रबार नहाय–खाय विधिबाट पर्वको सुरुवात गरिएको थियो।

    छठको अवसरमा आज साँझ व्रतालुहरू नदी, पोखरी तथा अन्य पवित्र जलाशयमा निर्माण गरिएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन्। मिथिलाञ्चलमा साँझको यस धार्मिक विधिलाई ‘सझियाअरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ।

    पर्वका लागि घरघरमा ठकुवा, भुसुवा लगायतका परम्परागत प्रसाद तथा मिष्ठान्न परिकार तयार गरिएको छ। व्रतालुहरूले जटासहितको नरिवल, केरा, विभिन्न फलफूल र अन्य पूजासामग्री सूर्यदेवलाई अर्पण गर्ने परम्परा रहेको छ।

    साँझको अर्घ्यपछि व्रतालुहरू रातभर जलाशयको किनारमा बसेर सूर्यदेव र छठी माताको महिमा गाइने भक्तिमय गीत तथा भजनमा सहभागी हुनेछन्।

    छठको अन्तिम दिन सोमबार बिहान सूर्योदय हुनुअघि नै व्रतालुहरू जलाशयमा पुगेर कम्मरसम्म पानीमा उभिई सूर्य उदाउने प्रतीक्षा गर्नेछन्। बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ। मिथिलाञ्चलमा बिहानको यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

    सूर्यदेव र छठी माताको श्रद्धापूर्वक पूजा आराधना गर्दा मनोकामना पूरा हुने, परिवारमा सुख–शान्ति र समृद्धि प्राप्त हुने, सन्तान सुख मिल्ने तथा रोगव्याधिबाट मुक्ति पाइने धार्मिक विश्वास रहिआएको छ।