लोक सेवामा जागिर खाने अवसर, विभिन्न सेवामा ठूलो संख्यामा माग - Chaitanya News
  • 2026-11-15
  • 08:54:20
  • आइतबार,कार्तिक ३०, २०८३
  • लोक सेवामा जागिर खाने अवसर, विभिन्न सेवामा ठूलो संख्यामा माग

    लोक सेवामा जागिर खाने अवसर, विभिन्न सेवामा ठूलो संख्यामा माग

    काठमाडौँ — सरकारी सेवामा प्रवेश गर्न चाहने उम्मेदवारका लागि लोक सेवा आयोगले विभिन्न सेवा र तहका पदमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। आयोगले शाखा अधिकृत वा सो सरहका पददेखि स्वास्थ्य सेवाका सातौँ र आठौँ तहसम्म खुला, समावेशी तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको हो।

    आयोगले निजामती सेवा, संघीय संसद सेवा, राष्ट्रिय मानव अधिकार सेवा तथा स्वास्थ्य सेवाअन्तर्गत अप्राविधिक र प्राविधिक पदमा योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ।

    प्रकाशित विज्ञापनअनुसार न्याय सेवामा खुलातर्फ ३७ पदका लागि आवेदन माग गरिएको छ। त्यस्तै, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाको संयुक्त तथा एकीकृत परीक्षाअन्तर्गत खुलातर्फ ४३ पदमा पदपूर्ति गरिनेछ। विभिन्न सेवामा महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रका उम्मेदवारका लागि समावेशी कोटासमेत छुट्याइएको छ।

    प्राविधिक क्षेत्रतर्फ तथ्याङ्क अधिकृत, इन्जिनियर, नापी अधिकृत, वन अधिकृत, वातावरण निरीक्षक, कम्प्युटर अधिकृत, कम्प्युटर इन्जिनियर, अर्थशास्त्री तथा पुरातत्त्व अधिकृतलगायत पदमा अवसर खुलाइएको छ। कम्प्युटर इन्जिनियर पदमा खुलातर्फ ३७ र समावेशी समूहअन्तर्गत ३० गरी कुल ६७ पदका लागि विज्ञापन गरिएको छ।

    त्यसैगरी स्वास्थ्य सेवाको आठौँ तहमा मेडिकल अधिकृत, डेन्टल सर्जन, आयुर्वेद चिकित्सक, होमियोप्याथी चिकित्सक र बायोमेडिकल इन्जिनियरका पदमा आवेदन माग गरिएको छ। मेडिकल अधिकृतमा खुलातर्फ २७ सहित विभिन्न समावेशी समूहमा गरी ४९ पद छुट्याइएको छ। स्वास्थ्य सेवाको सातौँ तहका विभिन्न पदमा पनि खुला, समावेशी तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ। राष्ट्रिय मानव अधिकार सेवाअन्तर्गत मानव अधिकार अधिकृत र लेखा अधिकृतका पदसमेत समावेश छन्।

    आयोगका अनुसार इच्छुक उम्मेदवारले २०८३ मंसिर १५ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। उक्त समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले मंसिर २२ गतेसम्म दोब्बर दस्तुर बुझाएर दरखास्त दिन पाउनेछन्। आवेदन आयोगको अनलाइन प्रणालीमार्फत दिनुपर्नेछ।

    प्रत्येक विज्ञापनका लागि एक हजार दुई सय रुपैयाँ दरखास्त दस्तुर तोकिएको छ। एउटै सेवा वा समूहअन्तर्गत थप समावेशी विज्ञापनमा आवेदन दिँदा प्रत्येक समूहका लागि चार सय रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ। परराष्ट्र तथा लेखापरीक्षण सेवामा समेत आवेदन दिने उम्मेदवारले सम्बन्धित सेवाका लागि थप चार सय रुपैयाँ बुझाउनुपर्नेछ।

    उमेर हदतर्फ निजामती तथा राष्ट्रिय मानव अधिकार सेवाका पदमा आवेदन दिन मंसिर १५ गतेसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारका लागि अधिकतम उमेर ४० वर्ष तोकिएको छ। स्वास्थ्य सेवातर्फ भने २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन्। बहालवाला कर्मचारीका हकमा सम्बन्धित सेवा ऐनका व्यवस्था लागू हुने आयोगले जनाएको छ।

    आयोगले परीक्षाको समयतालिकासमेत सार्वजनिक गरेको छ। परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाको संयुक्त तथा एकीकृत परीक्षाको पहिलो चरण पुस २५ गते बिहान ११ बजे हुनेछ। पहिलो चरण उत्तीर्ण गर्ने उम्मेदवारको दोस्रो चरणको परीक्षा फागुन १५ गतेदेखि सञ्चालन हुनेछ। न्याय सेवाको लिखित परीक्षा फागुन १२ गतेदेखि र राष्ट्रिय मानव अधिकार सेवाको परीक्षा फागुन २६ गतेदेखि सुरु हुनेछन्। प्राविधिक तथा स्वास्थ्य सेवाका परीक्षाहरू भने सम्बन्धित पदअनुसार फरकफरक मितिमा सञ्चालन गरिनेछ।

    यसैबीच आयोगले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवाका अधिकृतस्तरका पदमा बढुवाका लागि समेत सूचना प्रकाशित गरेको छ। स्वास्थ्य सेवाको सातौँ तहमा कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने समायोजनद्वारा बढुवाको व्यवस्था पनि गरिएको छ। बढुवाका लागि मंसिर २९ गतेसम्म दरखास्त दिन सकिनेछ।

    विभिन्न पदको आवश्यक शैक्षिक योग्यता, अनुभव, विज्ञापन नम्बर, परीक्षा तालिका तथा आवेदनसम्बन्धी विस्तृत जानकारी लोक सेवा आयोगको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ।