काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हटाउने वा यथावत् राख्ने विषयमा सरकारलाई कुनै दबाब तथा निर्देशन नदिएको स्पष्ट पारेको छ ।
रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले आईजीपीसम्बन्धी निर्णय सरकारकै अधिकार क्षेत्रभित्र पर्ने भन्दै यसमा पार्टीले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीले सरकारलाई कुनै आग्रह नगरेको प्रस्ट्याएका हुन् ।
सरकारले यसअघि दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाएर डा. मनोज केसीलाई नियुक्त गरेपछि उक्त निर्णयलाई लिएर राजनीतिक वृत्तदेखि आम नागरिकस्तरबाट समेत आलोचना भइरहेको छ । यस विषयमा सरकार र पार्टी नेतृत्वको भूमिकालाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला खरेलको यस्तो धारणा आएको हो ।
उनले आईजीपीलाई हटाउनुपर्ने वा पदमा कायम राख्नुपर्ने दुवै विषयमा पार्टीले सरकारलाई निर्देशन नदिएको दोहोर्याउँदै निर्णय गर्ने अधिकार सरकारमै रहेको बताए ।
खरेलले आईजीपीसम्बन्धी विवाद अदालतसम्म पुगिसकेको र विभिन्न कानुनी प्रक्रिया अघि बढिरहेको अवस्थामा पार्टीले यसबारे थप टिप्पणी गर्नु उचित नहुने धारणा पनि राखे । आवश्यक परे सरकारले नै यस विषयमा थप स्पष्ट पार्ने उनको भनाइ छ ।
‘नेपाल प्रहरीका आईजीपीलाई हटाउने वा यथावत् राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन । आईजीपीलाई हटाऊ वा राख भन्ने दुवै किसिमको निर्देशन पार्टीले नदिएको कुरा म पुनः स्पष्ट पार्न चाहन्छु । यो सरकारको विवेक र निर्णयको विषय हो,’ उनले भने ।
सरकारका तर्फबाट यस विषयमा धारणा सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा प्रक्रियालाई अघि बढ्न दिनुपर्ने संकेत गरे ।