धनगढीः कैलाली जिल्ला फुटबल संघ (केडीएफए) र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा धनगढीमा यू–१३ ग्रासरुट फुटबल महोत्सव हुने भएको छ।
बालबालिकामा फुटबल खेलप्रतिको रुचि बढाउने, खेलकुद सीप विकास गर्ने तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले मंसिर ५ गते शनिबार धनगढी रंगशालामा महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवमा विद्यार्थीलाई समेत सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ। कैलाली जिल्ला फुटबल संघ तथा धनगढी उपमहानगरपालिकाले १३ वर्षमुनिका इच्छुक विद्यार्थीलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीले निःशुल्क सहभागिता जनाउन पाउनेछन्। सहभागी विद्यार्थीले आफ्नो फुटबल पोसाक र जुत्ता आफैँ लिएर आउनुपर्ने बताइएको छ।
महोत्सवमा बालबालिकाले फुटबल खेल्ने अवसर प्राप्त गर्नुका साथै खेलसम्बन्धी सीप विकास, सामूहिक भावना, अनुशासन र आपसी मित्रता अभिवृद्धि गर्ने अवसर पाउनेछन्।
खेलकुदमार्फत बालबालिकाको प्रतिभा पहिचान र विकास गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने भएकाले विद्यार्थीलाई उत्साहपूर्वक सहभागी गराउन हरेक विद्यालयलाई कैलाली जिल्ला फुटबल संघले अनुरोध गरेको छ।