जलवायु वित्त र विपद्पछिको ऋण राहतमा नेपालको पहल अघि बढाउँदै अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता - Chaitanya News
  • 2026-11-15
  • 14:29:12
  • आइतबार,कार्तिक ३०, २०८३
  • जलवायु वित्त र विपद्पछिको ऋण राहतमा नेपालको पहल अघि बढाउँदै अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

    जलवायु वित्त र विपद्पछिको ऋण राहतमा नेपालको पहल अघि बढाउँदै अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

    काठमाडौँ– संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा नेपालको जलवायु वित्त, विपद्पछिको ऋण राहत र अन्तर्राष्ट्रिय सहकार्यका विषय उठाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।

    तुर्किएमा आयोजित सम्मेलनमा सहभागी भएका वाग्लेले ४४ अतिकम विकसित देशका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । उनले जलवायु परिवर्तनबाट सिर्जित जोखिम सामना गर्न आवश्यक वित्तीय स्रोत र व्यवस्थापनका विषयमा नेपालको धारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका हुन् ।

    सम्मेलनका क्रममा नेपाल जलवायु कार्यका लागि अर्थमन्त्रीहरूको गठबन्धनको १०५औँ सदस्य बनेको छ । उक्त गठबन्धनमा वाग्लेले जलवायु जोखिम न्यूनीकरण तथा सामना गर्ने क्षमता अभिवृद्धिका लागि आवश्यक वित्तीय व्यवस्थासम्बन्धी नीतिगत अवधारणा छलफलका लागि अघि सारेका थिए ।

    नेपालले उठाउँदै आएको विपद्पछिको ऋण राहतको विषयलाई पनि वाग्लेले अन्तर्राष्ट्रिय तहमा अघि बढाएका छन् । उनले बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र बेलायतका एड मिलिब्यान्डसँग विपद्पछि प्रभावित मुलुकलाई राहत उपलब्ध गराउने विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए । दुवै पक्षले यस विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको भ्रमण विवरणमा उल्लेख छ ।

    त्यसैगरी, कोप–३१ मा नेपालले उठाएका जलवायु मुद्दामा अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले उनले संयुक्त राष्ट्रसंघका महासचिवका जलवायु दूत सेल्विन हार्टसहित पाँच जलवायु दूतसँग भेटवार्ता गरेका थिए ।

    वाग्लेले हरित जलवायु कोषको नेतृत्वसँग आगामी कार्यक्रमबारे छलफल गर्नुका साथै विश्व मौसम विज्ञान संगठनको जलवायु मापनसम्बन्धी कोषको कार्यक्रममा सम्बोधन गरेका थिए ।

    भ्रमणका क्रममा उनले जलवायु अनुसन्धानकर्ता योहान रक्स्ट्रम र अर्थशास्त्री निकलस स्टर्नसँग पनि भेट गरेका थिए । साथै, टाइम पत्रिकाले सन् २०२६ का लागि छनोट गरेका जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सम्मानमा आयोजित कार्यक्रममा समेत उनी सहभागी भएका थिए ।