तलत र अरिफुलको आक्रामक ब्याटिङ, चितवनसामु कर्णालीको १५४ रनको चुनौती - Chaitanya News
  • 2026-11-15
  • 14:33:08
  • आइतबार,कार्तिक ३०, २०८३
  • तलत र अरिफुलको आक्रामक ब्याटिङ, चितवनसामु कर्णालीको १५४ रनको चुनौती

    तलत र अरिफुलको आक्रामक ब्याटिङ, चितवनसामु कर्णालीको १५४ रनको चुनौती

    काठमाडौं– हुसेन तलतको अविजित अर्धशतक र अरिफुल इस्लामको आक्रामक ब्याटिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनायो ।

    कर्णालीको इनिङ्स सम्हाल्ने क्रममा हुसेन तलतले उत्कृष्ट प्रदर्शन गरे । उनले ३३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाए ।

    त्यसअघि ओपनर अरिफुल इस्लामले आक्रामक सुरुवात दिलाएका थिए । उनले १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३५ रन जोडे ।

    त्यस्तै पवन सर्रफले २१ बलमा २ छक्कासहित १५ रन बनाउँदा गुल्सन झाले अन्तिम ओभरतिर आक्रामक ब्याटिङ गर्दै ६ बलमा १ चौका र २ छक्कासहित १८ रन जोडे ।

    कर्णालीका अन्य ब्याटर भने ठूलो योगदान दिन असफल भए । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका चसिन शर्मा खाता नखोली आउट भए । दीपक डुम्रे ७, कप्तान डेभिड मिलर ५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए । नन्दन यादव २ रनमा अविजित रहे ।

    चितवनका बलरमध्ये कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान २ विकेट लिए । यस्तै रिजन ढकाल र कप्तान सिकन्दर राजाले १–१ विकेट हात पारे ।

    अब चितवनले जितका लागि २० ओभरमा १५४ रन बनाउनुपर्नेछ ।