धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले डोटीको बडीकेदार क्षेत्रलाई पवित्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गरिने बताएका छन्। प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय स्थललाई धार्मिक पर्यटन सर्किटमा जोडेर एकीकृत रूपमा विकास गर्ने सरकारको योजना रहेको उनले बताएका हुन्।
बडीकेदार पर्यटन समितिले आयोजना गरेको बडीकेदार मेलासम्बन्धी पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री भट्टले स्थानीय जनताको भावना, चाहना र अपेक्षाअनुसार बडीकेदारको पूर्वाधार विकास, प्रचारप्रसार तथा प्रवर्द्धनलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए।
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका दृष्टिले बडीकेदारमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके यस क्षेत्रको आर्थिक उपार्जन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।
धार्मिक पर्यटन सर्किटमार्फत सुदूरपश्चिमका गन्तव्य जोडिने
मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थललाई देवाटपी धार्मिक पर्यटन सर्किटमार्फत जोडेर विकास गर्ने योजना रहेको जानकारी दिए।
धार्मिक आस्था, ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण प्रदेशका पर्यटकीय स्थलको पूर्वाधार विकास, प्रचारप्रसार र संरक्षण गर्न सके सुदूरपश्चिमलाई महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो।
उनले बडीकेदार क्षेत्रको विकासलाई धार्मिक पर्यटनमा मात्र सीमित नराखी स्थानीयको आयआर्जन, रोजगारी र आर्थिक समृद्धिसँग समेत जोड्नुपर्नेमा जोड दिए।
बडीकेदारको विकासमा सबैको सहकार्य आवश्यक
मुख्यमन्त्री भट्टले बडीकेदार क्षेत्रमा आयोजना हुने आगामी मेलाको सफलताको शुभकामना व्यक्त गर्दै मेलाले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप उजागर गर्ने विश्वास व्यक्त गरे।
बडीकेदार क्षेत्रको विकास र समृद्धिका लागि प्रदेश सरकारको प्रयाससँगै स्थानीय जनता, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सम्पूर्ण सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको उनले बताए।
धार्मिक पर्यटनको विकासबाट स्थानीयस्तरमै आर्थिक गतिविधि बढाउन, रोजगारीका अवसर सिर्जना गर्न र समग्र क्षेत्रको समृद्धिमा योगदान पुर्याउन सकिने उल्लेख गर्दै उनले यसका लागि सबै पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिए।