कोप–३१ : जलवायु वार्तामा लचकता अपनाउन साइमन स्टिलको आग्रह - Chaitanya News
  • 2026-11-17
  • 09:59:53
  • मंगलबार,मंसिर ०२, २०८३
  • कोप–३१ : जलवायु वार्तामा लचकता अपनाउन साइमन स्टिलको आग्रह

    कोप–३१ : जलवायु वार्तामा लचकता अपनाउन साइमन स्टिलको आग्रह

    अन्ताल्या (टर्किए)– संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु संकटको सामना गर्न सरकारहरूबीच सहमति र नागरिकस्तरमा व्यापक सहभागिता आवश्यक रहेको बताएका छन् । उनले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचिलो बन्न र अनावश्यक रूपमा छलफल लम्ब्याउने रणनीति त्याग्न आग्रह गरेका छन् ।

    कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा स्टिलले सबै देशको सहमति र सम्झौताबाट मात्रै सामूहिक सफलता हासिल गर्न सकिने बताए । प्रत्येक राष्ट्रका आ–आफ्नै धारणा र प्राथमिकता भए पनि साझा सहमति खोज्नु अहिलेको मुख्य आवश्यकता भएको उनको भनाइ थियो ।

    करिब २०० देशले १६५ वटा कार्यादेशमा छलफल गरिरहेको जानकारी दिँदै उनले सम्मेलन दोस्रो सातामा प्रवेश गरेसँगै जटिल विषयमा समेत तीव्रताका साथ वार्ता अघि बढाउनुपर्नेमा जोड दिए । रणनीतिक रूपमा वार्ता लम्ब्याउने प्रवृत्तिले जलवायु कार्यमा बाधा पुर्‍याउन नहुने उनले बताए ।

    स्टिलले जलवायु परिवर्तनलाई केवल वातावरणीय समस्याका रूपमा नभई आर्थिक वृद्धि, रोजगारी, ऊर्जा सुरक्षा र नागरिकको दैनिक जीवनसँग जोडिएको विषयका रूपमा व्याख्या गरे । विश्वव्यापी तापक्रम वृद्धि र ऊर्जा बजारमा देखिएको अस्थिरताले देशहरूलाई जलवायु कार्यप्रति थप गम्भीर बनाएको उनको भनाइ थियो ।

    उनले नवीकरणीय ऊर्जालाई आर्थिक विकास, रोजगारी सिर्जना तथा सुरक्षित र सुलभ ऊर्जाको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे । विद्युतीकरण, जलवायु वित्तमा पहुँच, स्वच्छ ऊर्जा, बलियो पूर्वाधार र स्वच्छ उद्योगलाई अहिलेको वार्ताका प्रमुख प्राथमिकता बनाउनुपर्ने उनले उल्लेख गरे ।

    जलवायु संकटको समाधान कुनै एउटा सम्मेलनबाट सम्भव नहुने भन्दै स्टिलले प्रत्येक सम्मेलनबाट ठोस उपलब्धि हासिल गर्नुपर्ने बताए । जलवायु परिवर्तनका प्रभावलाई नागरिकको स्वास्थ्य, रोजगारी र दैनिक आवश्यकतासँग जोडेर मात्रै अर्बौं मानिसलाई जलवायु अभियानमा सहभागी गराउन सकिने उनको धारणा थियो ।

    यसका लागि खेलकुद, चलचित्र, सङ्गीत, टेलिभिजन र कलालाई जलवायु परिवर्तनबारे जनचेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्ने उनले बताए । मानिसको रुचि र भावनासँग जोडिएका क्षेत्रमार्फत जलवायु संकटको सन्देश आमनागरिकसम्म पुर्‍याउन सकिने उनको भनाइ थियो ।

    पत्रकार सम्मेलनमा टेलिमुन्डोकी पत्रकार भेनेस्सा हाउकले खेलकुद क्षेत्रले जलवायु परिवर्तनबारे जनचेतना फैलाउन सक्ने उदाहरण प्रस्तुत गरिन् । विश्वकप फुटबलका क्रममा अत्यधिक गर्मी र उच्च आर्द्रताले खेलाडीको स्वास्थ्य तथा प्रदर्शनमा पारेको असरबारे सञ्चारमाध्यमले दर्शकलाई जानकारी गराएको उनले बताइन् ।

    विश्वकपका करिब एक चौथाइ खेल मानव स्वास्थ्यका लागि जोखिमपूर्ण मौसममा हुनसक्ने अध्ययनले देखाएको उल्लेख गर्दै उनले खेलका क्रममा दिइने पानी पिउने विश्रामलाई जलवायु विज्ञानबारे जानकारी दिने अवसरका रूपमा उपयोग गरिएको बताइन् ।

    टेलिमुन्डोले खेलका क्रममा पानी पिउने विश्राममा विज्ञापन प्रसारण नगरी खेलाडीले पानी पिइरहेको र शरीरमा बरफ राखेर तापक्रम नियन्त्रण गर्ने प्रयास गरिरहेको दृश्य देखाएको उनले जानकारी दिइन् । यसले दर्शकलाई अत्यधिक गर्मीले खेलाडीको स्वास्थ्यमा पार्ने असर बुझाउन सहयोग पुगेको उनको भनाइ थियो ।

    उनले जलवायु परिवर्तनका प्रभाव मात्रै नभई त्यसका कारण र जिम्मेवारीका विषय पनि सञ्चारमाध्यमले उजागर गर्नुपर्ने बताइन् । नागरिकको रुचि र चासो भएका विषयलाई आधार बनाएर जलवायु सञ्चारलाई प्रभावकारी बनाउन सकिने उनले उल्लेख गरिन् ।

    त्यस्तै, भारतीय संस्था पीएलयुसीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत तम्सिल हुसेनले चलचित्र तथा मनोरञ्जन उद्योगलाई जलवायु अभियानको महत्त्वपूर्ण साझेदार बनाउनुपर्ने बताए ।

    भारतमा प्रत्येक वर्ष २० भाषामा एक हजार ८०० भन्दा बढी चलचित्र निर्माण हुने उल्लेख गर्दै उनले चलचित्रमार्फत जलवायु परिवर्तनसम्बन्धी सन्देश ठूलो जनसमुदायसम्म पुर्‍याउन सकिने बताए ।

    उनका अनुसार पीएलयुसीले नेटफ्लिक्स इन्डियासँगको सहकार्यमा भारतको पहिलो जलवायु विषयक पटकथा लेखन प्रयोगशाला सञ्चालन गरेको छ । उक्त कार्यक्रममा छ हजारभन्दा बढी पटकथा लेखकले आवेदन दिएका थिए भने ६५ जना छनोट भएका थिए ।

    लेखकलाई जलवायु परिवर्तनकै विषयमा मात्र कथा लेख्न नभनी प्रेमकथा, त्रासदी र विज्ञानमा आधारित काल्पनिक कथाजस्ता लोकप्रिय विधामा जलवायुका विषय समेट्न प्रोत्साहित गरिएको उनले बताए ।

    भारतका नौ प्रमुख चलचित्र निर्माण संस्थाबाट सुरु भएको उक्त पहलमा अहिले १७० चलचित्र स्टुडियो सहभागी भएका छन् । ती संस्थाको सहकार्यमा भारतको पहिलो हरित चलचित्र उत्पादन निर्देशिका पनि तयार गरिएको उनले जानकारी दिए । यसले चलचित्र निर्माणका क्रममा उत्सर्जन घटाउन र वातावरणमैत्री अभ्यास अपनाउन सहयोग पुग्ने उनको विश्वास थियो ।

    हुसेनले चलचित्रमा जलवायु परिवर्तनका विषय समेट्नुका साथै चलचित्र निर्माण प्रक्रियालाई नै स्वच्छ र कम उत्सर्जनयुक्त बनाउनुपर्नेमा जोड दिए । स्वच्छ ऊर्जा रूपान्तरण र सिर्जनात्मक अर्थतन्त्रलाई सँगसँगै अघि बढाउन सके मनोरञ्जन उद्योग जलवायु अभियानमा नागरिक सहभागिता बढाउने प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो ।

    कोप–३१ को मध्यबिन्दुमा भएको छलफलले जलवायु संकट समाधानका लागि सरकारबीचको सहमतिसँगै सञ्चारमाध्यम, खेलकुद र मनोरञ्जन क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको सन्देश दिएको छ ।