प्लेअफबाट बाहिरिए पनि कर्णालीको दमदार अन्त्य, चितवन २४ रनले पराजित - Chaitanya News
  • 2026-11-15
  • 16:52:32
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्लेअफबाट बाहिरिए पनि कर्णालीको दमदार अन्त्य, चितवन २४ रनले पराजित

    प्लेअफबाट बाहिरिए पनि कर्णालीको दमदार अन्त्य, चितवन २४ रनले पराजित

    काठमाडौं– प्रतियोगिताको प्लेअफ यात्रा समाप्त भइसकेको थियो। तर कर्णाली याक्सले लिग चरणको अन्तिम खेलमा हार मानेन। ब्याट र बल दुवैबाट चम्किएका हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णालीले चितवन राइनोजलाई २४ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा सुखद जितसहित टुंग्याएको छ।

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै समेटियो। यस जितका मुख्य नायक बने तलत, जसले ब्याटिङमा अविजित अर्धशतक बनाए भने बलिङमा तीन विकेट झारे।

    प्लेअफको सम्भावना समाप्त भइसकेको अवस्थामा मैदान उत्रिएको कर्णालीका लागि यो जित प्रतिष्ठाको लडाइँ पनि थियो। सुरुवाती दुई खेल जितेर राम्रो संकेत गरेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको थियो। अन्तिम खेलमा चितवनलाई हराउँदै उसले प्रतियोगिताबाट बिदाइ लियो।

    तलतको ब्याट र बल दुवैमा दबदबा:

    टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो। कर्णालीको इनिङ्सलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याउन तलतले महत्वपूर्ण भूमिका खेले।

    उनले ३३ बलमा दुई चौका र एक छक्कासहित अविजित ५१ रन बनाए। ओपनर अरिफुल इस्लामले आक्रामक सुरुवात गर्दै १५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडे।

    पवन सर्राफले २१ बलमा १५ रन बनाउँदा गुल्सन झाले अन्तिमतिर आक्रामक ब्याटिङ गरे। उनले केवल ६ बलमा एक चौका र दुई छक्कासहित १८ रन जोडे।

    कर्णालीका अन्य ब्याटरले भने उल्लेखनीय योगदान दिन सकेनन्। चसिन शर्मा खाता नखोली आउट हुँदा दीपक डुम्रेले सात, कप्तान डेभिड मिलरले पाँच, सोमपाल कामीले चार र मार्क वाटले ६ रन बनाए।

    चितवनका कमल सिंह ऐरी, सलाउद्दिन खान र यसै खेलबाट एनपीएलमा डेब्यु गरेका उसामा मिरले समान दुई विकेट लिए। रिजन ढकाल र कप्तान सिकन्दर राजाले एक–एक विकेट हात पारे।

    लक्ष्य पछ्याउँदा चितवनको ब्याटिङ धराशायी:

    १५४ रनको लक्ष्य पछ्याएको चितवनले सुरुवातमा केही आशा देखाए पनि त्यसलाई ठूलो साझेदारीमा बदल्न सकेन।

    ओपनर कमिल मिशाराले १७ बलमा दुई चौका र एक छक्कासहित २५ रन बनाए। देव खनालले १३ बलमा तीन चौकासहित १४ रन जोडे। यी दुईबीच पहिलो विकेटका लागि ३५ रनको साझेदारी भएको थियो।

    तर त्यसपछि चितवनको ब्याटिङ क्रम लगातार दबाबमा पर्‍यो। कप्तान सिकन्दर राजा दुई, विवेक यादव छ र डान मोस्ली आठ रनमै आउट भए। ६४ रन पुग्दा चितवनले पाँच विकेट गुमाइसकेको थियो।

    कुशल मल्लले १५ बलमा एक चौका र एक छक्कासहित १८ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। सलाउद्दिन खान सात र अशोक धामी ११ रनमा आउट भए।

    एनपीएलमा डेब्यु गरेका उसामा मिर भने २३ बलमा दुई चौका र एक छक्कासहित २८ रनमा अविजित रहे। तर उनको प्रयास चितवनलाई हारबाट जोगाउन पर्याप्त भएन।

    तलतको बलिङमा चितवन निरीह:

    कर्णालीको जितमा तलतको बलिङ पनि उत्तिकै प्रभावशाली रह्यो। उनले ३.१ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए।

    मार्क वाट र पवन सर्राफले समान दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट हात पारे। कर्णालीका बलरले नियमित अन्तरालमा विकेट लिँदा चितवनले लक्ष्यसम्म पुग्ने अवसर गुमायो।

    यस हारका बाबजुद चितवनले सात खेलबाट सात अंक जोड्दै लिग चरण चौथो स्थानमा रहेर प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। अब उसले एलिमिनेटर खेल्नेछ।

    अर्कोतर्फ, प्लेअफको दौडबाट बाहिरिएको कर्णालीले अन्तिम खेलमा जित निकाल्दै प्रतियोगितालाई सुखद बिदाइ गरेको छ। कर्णालीको जितमा हुसेन तलतको अलराउण्ड प्रदर्शन निर्णायक बन्यो।