नैतिक पुँजी, मानवीय चेतना र संस्थागत सुशासन - Chaitanya News
  • 2026-11-15
  • 17:19:24
  • आइतबार,कार्तिक ३०, २०८३
  • नैतिक पुँजी, मानवीय चेतना र संस्थागत सुशासन

    नैतिक पुँजी, मानवीय चेतना र संस्थागत सुशासन

    तोमनाथ उप्रेती:
    उपसचिव, नेपाल सरकार:

    मानव सभ्यताको विकासक्रमलाई ऐतिहासिक रूपमा विश्लेषण गर्दा भौतिक उत्पादन, वैज्ञानिक आविष्कार, प्राविधिक नवप्रवर्तन र संस्थागत संरचनाको विस्तारलाई प्रगतिको प्रमुख सूचकका रूपमा लिइएको पाइन्छ। औद्योगिकीकरण, सहरीकरण, विश्वव्यापीकरण र डिजिटल रूपान्तरणले मानव जीवनको उत्पादन क्षमता, सञ्चार प्रणाली तथा आर्थिक अवसरमा गुणात्मक परिवर्तन ल्याएका छन्। कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि, अन्तरिक्ष अनुसन्धान र सूचना प्रविधिको तीव्र विकासले मानव क्षमताको परम्परागत सीमालाई समेत विस्तार गरेको छ। तथापि, भौतिक तथा प्राविधिक उन्नतिको यो उपलब्धिले मानवीय सभ्यताको नैतिक परिपक्वता स्वतः सुनिश्चित गरेको छैन।

    समकालीन विश्वमा युद्ध, हिंसा, भ्रष्टाचार, सामाजिक असमानता, जलवायु सङ्कट, धार्मिक तथा राजनीतिक ध्रुवीकरण, सूचनाको दुरुपयोग र सार्वजनिक संस्थाप्रतिको विश्वासमा आएको क्षयले विकासको प्रचलित अवधारणामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता देखाएको छ। यसले एउटा आधारभूत सैद्धान्तिक प्रश्न उत्पन्न गर्छ—सभ्यताको वास्तविक प्रगति भौतिक उपलब्धिको विस्तारबाट मापन गर्ने कि त्यस उपलब्धिको उपयोग गर्ने मानवको नैतिक चेतना र चरित्रबाट?

    विकासको भौतिक आयामले समाजलाई साधन, स्रोत र अवसर उपलब्ध गराउँछ भने नैतिक आयामले ती साधन र अवसरको प्रयोगलाई न्यायोचित दिशा प्रदान गर्छ। यस अर्थमा प्रविधि, पुँजी, ज्ञान र संस्थागत क्षमता सभ्यताको विकासका आवश्यक सर्त हुन्; तर तिनको मानवीय उपयोगका लागि नैतिक विवेक, उत्तरदायित्व र चरित्र अनिवार्य सर्तका रूपमा रहन्छन्। प्रविधिले मानिसलाई शक्तिशाली बनाउन सक्छ, तर त्यस शक्तिको उद्देश्य, सीमा र सामाजिक परिणाम निर्धारण गर्ने आधार मानवीय मूल्य हुन्।

    यस निबन्धको मूल प्रतिपादन के हो भने चरित्र व्यक्तिगत सद्गुणको विषय मात्र नभई सामाजिक विश्वास, संस्थागत विश्वसनीयता, लोकतान्त्रिक स्थायित्व र दिगो विकासको आधारभूत सामाजिक पुँजीसमेत हो। त्यसैले सभ्यताको दीर्घकालीन स्थायित्वलाई मूल्याङ्कन गर्दा आर्थिक उत्पादन र प्राविधिक क्षमतासँगै नैतिक चेतना तथा चरित्रको संस्थागत अभिव्यक्तिलाई पनि समान महत्त्व दिनुपर्छ।

    चरित्रलाई सामान्यतः व्यक्तिको स्थायी नैतिक प्रवृत्ति, मूल्यगत प्रतिबद्धता र व्यवहारगत निरन्तरताको समष्टिका रूपमा बुझ्न सकिन्छ। यसले व्यक्तिले के सोच्दछ भन्ने मात्र होइन, प्रतिकूल परिस्थिति, व्यक्तिगत स्वार्थ र बाह्य दबाबका बीचमा उसले कस्तो निर्णय गर्छ भन्ने कुरालाई समेत समेट्छ। सत्यनिष्ठा, आत्मसंयम, न्यायबोध, करुणा, इमानदारी, अनुशासन र उत्तरदायित्व चरित्रका प्रमुख अवयव हुन्।

    मनोवैज्ञानिक दृष्टिकोणबाट चरित्र व्यक्तिको मूल्य, अभिवृत्ति, भावनात्मक नियन्त्रण र व्यवहारगत अभ्यासको परिणाम हो। नैतिक दर्शनका दृष्टिले यो असल जीवनको अभ्यास र नैतिक कर्तव्यप्रतिको प्रतिबद्धता हो। समाजशास्त्रीय दृष्टिकोणबाट भने चरित्र सामाजिक मान्यता, पारिवारिक संस्कार, संस्थागत अभ्यास र सामूहिक व्यवहारसँग अन्तरसम्बन्धित हुन्छ। यसरी चरित्रलाई केवल व्यक्तिगत मनोवैज्ञानिक विशेषतामा सीमित गर्नु यसको व्यापक सामाजिक भूमिकालाई उपेक्षा गर्नु हो।

    चरित्र र नैतिक आचरणबीच घनिष्ठ सम्बन्ध भए पनि यी अवधारणा पूर्णतः समानार्थी होइनन्। नैतिक नियमले उचित र अनुचित व्यवहारको मापदण्ड निर्धारण गर्छ भने चरित्रले ती मापदण्डलाई व्यक्तिको आन्तरिक स्वभाव र नियमित व्यवहारमा रूपान्तरण गर्छ। कानुनको डरले नियम पालना गर्नु बाह्य अनुशासन हो; तर कसैले नदेखेको अवस्थामा पनि सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु आन्तरिक नैतिकताको अभिव्यक्ति हो। यसैले चरित्रको वास्तविक परीक्षण औपचारिक अवसरमा होइन, स्वार्थ र नैतिक दायित्वबीच द्वन्द्व उत्पन्न हुने परिस्थितिमा हुन्छ।

    चरित्र निर्माणको आधारभूत प्रक्रिया आत्मचेतनाबाट प्रारम्भ हुन्छ। आत्मचेतना भन्नाले व्यक्तिले आफ्ना विचार, भावना, अभिप्रेरणा, व्यवहार र निर्णयको आलोचनात्मक अवलोकन गर्न सक्ने क्षमतालाई बुझिन्छ। यसले व्यक्तिलाई आफ्ना कमजोरी पहिचान गर्न, आवेग नियन्त्रण गर्न र मूल्यगत प्राथमिकताको पुनर्मूल्याङ्कन गर्न सक्षम बनाउँछ।

    नैतिक विवेकले सही र गलतबीच भेद गर्ने बौद्धिक तथा मूल्यगत क्षमता प्रदान गर्छ। आत्मचेतनाले व्यक्तिलाई आफ्नो व्यवहारप्रति सचेत बनाउँछ भने नैतिक विवेकले त्यस व्यवहारको औचित्य परीक्षण गर्छ। यी दुई क्षमताको अन्तरक्रियाबाट आत्मसंयम, उत्तरदायित्व र नैतिक दृढता विकसित हुन्छन्।

    बौद्ध दर्शनको सम्यक् दृष्टि, सम्यक् सङ्कल्प र सम्यक् कर्मको अवधारणाले पनि विचार, अभिप्रेरणा र व्यवहारबीचको नैतिक सम्बन्धलाई स्पष्ट गर्छ। यस दृष्टिमा मानसिक शुद्धि नै नैतिक आचरणको आधार हो। यसरी विभिन्न पूर्वीय दार्शनिक परम्पराहरूले आत्मचेतनालाई चरित्र निर्माणको आन्तरिक पूर्वाधारका रूपमा स्वीकार गरेका छन्।

    चरित्रसम्बन्धी विमर्श पूर्वीय तथा पाश्चात्य दार्शनिक परम्परामा फरक अवधारणात्मक आधारका साथ विकसित भएको पाइन्छ। पूर्वीय दर्शनले आत्मबोध, धर्म, कर्म, संयम, करुणा र लोककल्याणलाई नैतिक जीवनका प्रमुख आधार मानेको छ। यसको मूल उद्देश्य व्यक्तिको आन्तरिक रूपान्तरणमार्फत सामाजिक सद्भाव र आध्यात्मिक उन्नयन हासिल गर्नु हो।इमानुएल कान्टको कर्तव्यवादी नैतिकताले नैतिक निर्णयको आधार व्यक्तिगत स्वार्थ वा परिणामभन्दा माथि रहेको नैतिक कर्तव्यलाई मानेको छ। कान्टका अनुसार व्यक्तिलाई केवल साधनका रूपमा नभई स्वयंमा साध्यका रूपमा सम्मान गर्नुपर्छ। यस अवधारणाले मानव गरिमा, समानता र नैतिक उत्तरदायित्वको दार्शनिक आधार प्रदान गर्छ।

    महात्मा गान्धीको सत्याग्रह र साधन–साध्यको नैतिक सम्बन्धसम्बन्धी चिन्तनले राजनीतिक तथा सामाजिक परिवर्तनमा चरित्रको भूमिकालाई उजागर गर्छ। उनका अनुसार नैतिक रूपमा अनुचित साधनबाट न्यायपूर्ण उद्देश्य हासिल गर्न सकिँदैन। यसले सार्वजनिक जीवनमा साधनको पवित्रता र व्यक्तिगत आचरणको विश्वसनीयतालाई महत्त्व दिन्छ।

    पूर्वीय आत्मबोध, अरस्तुको सद्गुण नैतिकता, कान्टको कर्तव्यबोध र गान्धीको नैतिक राजनीतिक चिन्तनबीच सैद्धान्तिक भिन्नता रहे पनि तिनको साझा निष्कर्ष के हो भने मानव जीवनको गुणस्तर केवल बाह्य उपलब्धिबाट होइन, नैतिक आचरणको स्तरबाट समेत निर्धारित हुन्छ।

    समाजको आर्थिक तथा संस्थागत विकासमा चरित्रको योगदानलाई सामाजिक पुँजीको अवधारणासँग जोडेर विश्लेषण गर्न सकिन्छ। सामाजिक पुँजीले सामाजिक सञ्जाल, पारस्परिक विश्वास, साझा मान्यता र सहकार्यका संरचनाबाट उत्पन्न हुने सामूहिक लाभलाई जनाउँछ।

    रोबर्ट पुटनमले सामाजिक विश्वास र नागरिक सहभागितालाई लोकतान्त्रिक संस्थाको प्रभावकारितासँग सम्बन्धित गरेका छन्। फ्रान्सिस फुकुयामाले पनि विश्वासलाई आर्थिक तथा सामाजिक सहकार्यको महत्त्वपूर्ण आधारका रूपमा विश्लेषण गरेका छन्। यी दृष्टिकोणअनुसार सामाजिक सम्बन्धमा विश्वसनीयता र पारस्परिक उत्तरदायित्व कायम हुँदा सामूहिक कार्यसम्पादन सहज हुन्छ।

    चरित्रवान् नागरिकले कानुनी दायित्व मात्र होइन, सामाजिक उत्तरदायित्व पनि आत्मसात् गर्छ। उसले सार्वजनिक सम्पत्तिको संरक्षण गर्छ, कर दायित्व पूरा गर्छ, श्रमको सम्मान गर्छ र अरूको अधिकारको कदर गर्छ। यस्तो व्यवहारले सामाजिक विश्वासको स्तर बढाउँछ। विश्वासको स्तर उच्च भएको समाजमा कारोबारको अनिश्चितता घट्छ, संस्थागत सहकार्य सहज हुन्छ र सार्वजनिक स्रोतको उपयोग तुलनात्मक रूपमा प्रभावकारी बन्न सक्छ।

    यस अर्थमा चरित्रलाई नैतिक सद्गुणको व्यक्तिगत सङ्ग्रह मात्र नभई सामाजिक तथा आर्थिक सम्बन्धलाई स्थिर बनाउने अदृश्य पुँजीका रूपमा बुझ्न सकिन्छ। यद्यपि सामाजिक विश्वासको विकास व्यक्तिगत चरित्रमा मात्र निर्भर हुँदैन; पारदर्शी कानुन, निष्पक्ष संस्था र समान अवसरको उपलब्धता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।

    चरित्रको सामाजिक प्रभाव सबैभन्दा स्पष्ट रूपमा सार्वजनिक संस्थाहरूमा देखिन्छ। लोकतान्त्रिक शासन प्रणालीको प्रभावकारिता संविधान, कानुन र औपचारिक संस्थागत संरचनामा मात्र निर्भर हुँदैन; ती संरचना सञ्चालन गर्ने पदाधिकारीको नैतिक प्रतिबद्धता र संस्थागत संस्कृतिले पनि त्यसलाई प्रभावित गर्छ।

    संस्थागत नैतिकता भन्नाले सार्वजनिक तथा निजी संस्थाले आफ्नो उद्देश्य, निर्णय र व्यवहारमा सत्यनिष्ठा, निष्पक्षता, पारदर्शिता र उत्तरदायित्वलाई आत्मसात् गर्ने अवस्थालाई बुझिन्छ। संस्थागत नैतिकता कमजोर हुँदा कानुनी प्रावधान हुँदाहुँदै पनि भ्रष्टाचार, स्वार्थको द्वन्द्व, अधिकारको दुरुपयोग र निर्णय प्रक्रियामा पक्षपात विकसित हुन सक्छ।

    सुशासनको अवधारणाले सहभागिता, विधिको शासन, पारदर्शिता, उत्तरदायित्व, प्रभावकारिता र समावेशितालाई महत्त्व दिन्छ। यी सबै तत्त्वको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत संरचनासँगै नैतिक चरित्र आवश्यक हुन्छ। उदाहरणका लागि, सार्वजनिक खरिद प्रणालीमा पारदर्शी प्रक्रिया स्थापित भए पनि निर्णयकर्ताको इमानदारी कमजोर छ भने अनियमितताको सम्भावना कायम रहन्छ। त्यसैले संस्थागत नियन्त्रण र व्यक्तिगत नैतिकता एकअर्काका विकल्प होइनन्; परिपूरक आधार हुन्।

    सार्वजनिक प्रशासनमा पदाधिकारीको चरित्रले निर्णयको निष्पक्षता, सेवाप्रवाहको गुणस्तर र नागरिकको विश्वासलाई प्रभावित गर्छ। सार्वजनिक पद व्यक्तिगत लाभ आर्जन गर्ने अवसर होइन, नागरिकप्रतिको जिम्मेवारी निर्वाह गर्ने संस्थागत दायित्व हो भन्ने मान्यता प्रशासनिक नैतिकताको आधार हो।

    डिजिटल प्रविधिले ज्ञान र सूचनाको पहुँचलाई व्यापक बनाएको भए पनि त्यसको प्रयोगमा नैतिक विवेकको आवश्यकता झन् बढेको छ। सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र डिजिटल सञ्चार प्रणालीले अभिव्यक्तिको अवसर विस्तार गरेका छन्। तर गलत सूचना, घृणात्मक अभिव्यक्ति, साइबर अपराध, गोपनीयताको उल्लङ्घन र डिजिटल चरित्रहत्याका चुनौती पनि बढेका छन्।

    डिजिटल माध्यममा व्यक्तिको व्यवहारको सामाजिक तथा कानुनी प्रभाव वास्तविक जीवनभन्दा पृथक् हुँदैन। भौतिक उपस्थितिको अभावले नैतिक उत्तरदायित्व समाप्त हुँदैन। त्यसैले डिजिटल चरित्र भन्नाले प्रविधिको प्रयोग गर्दा सत्यनिष्ठा, गोपनीयताको सम्मान, बौद्धिक इमानदारी, जिम्मेवार अभिव्यक्ति र अरूको अधिकारप्रतिको संवेदनशीलता कायम राख्ने व्यवहारगत क्षमता बुझ्न सकिन्छ।

    कृत्रिम बुद्धिमत्ताले विश्लेषणात्मक क्षमता विस्तार गर्न सक्छ, तर त्यसको प्रयोगको उद्देश्य र नैतिक सीमाको निर्धारण मानवीय जिम्मेवारीसँग सम्बन्धित हुन्छ। एल्गोरिद्मिक प्रणालीमा पूर्वाग्रह, डेटा दुरुपयोग र निर्णयको अपारदर्शिताले सामाजिक न्यायमा प्रतिकूल प्रभाव पार्न सक्छ। त्यसैले डिजिटल सभ्यताको विकासमा प्राविधिक साक्षरतासँगै नैतिक तथा आलोचनात्मक डिजिटल साक्षरता पनि आवश्यक हुन्छ।

    सूचनाको उपलब्धता र विवेकको विकास एउटै प्रक्रिया होइन। सूचना ज्ञानको आधार बन्न सक्छ, तर त्यसलाई सत्यापन गर्ने क्षमता, सन्दर्भगत व्याख्या र नैतिक प्रयोगको अभ्यासबिना सूचना स्वयं भ्रमको स्रोतसमेत बन्न सक्छ। यसैले डिजिटल युगमा चरित्रको महत्त्व घटेको होइन, यसको कार्यक्षेत्र अझ विस्तारित भएको हो।

    चरित्र निर्माण एकल घटना वा औपचारिक उपदेशबाट सम्पन्न हुने प्रक्रिया होइन। यो परिवार, विद्यालय, समुदाय, सार्वजनिक संस्था र व्यक्तिको निरन्तर अभ्यासबाट विकसित हुने सामाजिक प्रक्रिया हो।

    परिवार चरित्र निर्माणको प्रारम्भिक सामाजिक संस्था हो। बालबालिकाले सत्यनिष्ठा, अनुशासन, सहानुभूति र उत्तरदायित्वका मूल्यहरू अभिभावकको व्यवहार तथा पारिवारिक अन्तरक्रियाबाट आत्मसात् गर्छन्। परिवारमा सिकिएको नैतिक व्यवहारले व्यक्तिको भावी सामाजिक सम्बन्ध र निर्णय प्रक्रियामा प्रभाव पार्न सक्छ।

    विद्यालयले ज्ञान र सीपसँगै नैतिक विवेक, आलोचनात्मक चिन्तन र नागरिक उत्तरदायित्वको विकास गर्नुपर्छ। शिक्षाको गुणस्तरलाई परीक्षा परिणाम, प्रमाणपत्र र रोजगारीको अवसरबाट मात्र मापन गर्नु पर्याप्त हुँदैन। शिक्षाले सामाजिक समस्याप्रति संवेदनशील, बौद्धिक रूपमा स्वतन्त्र र नैतिक रूपमा उत्तरदायी नागरिक निर्माण गर्न सकेको छ कि छैन भन्ने प्रश्न पनि मूल्याङ्कनको आधार बन्नुपर्छ।

    यसैगरी राजनीतिक तथा प्रशासनिक नेतृत्व चरित्र निर्माणको सामाजिक वातावरणमा प्रभाव पार्ने महत्त्वपूर्ण कारक हो। नेतृत्वको व्यवहारले संस्थागत संस्कृतिलाई दिशा दिन्छ। नेतृत्वले विधिको शासन, सार्वजनिक उत्तरदायित्व र निष्पक्षतालाई व्यवहारमा स्थापित गर्दा संस्थाभित्र नैतिक अनुशासन विकास हुने सम्भावना बढ्छ। यसको विपरीत नेतृत्वको दोहोरो मापदण्ड र स्वार्थकेन्द्रित व्यवहारले संस्थागत विश्वास कमजोर पार्न सक्छ।

    नेपालको वर्तमान विकास प्रक्रियालाई चरित्र र संस्थागत नैतिकताको दृष्टिकोणबाट विश्लेषण गर्नु विशेष सान्दर्भिक छ। सङ्घीय शासन प्रणालीको कार्यान्वयन, पूर्वाधार विकास, डिजिटल सार्वजनिक सेवा, सहरीकरण, वैदेशिक रोजगारी र आर्थिक संरचनामा भइरहेको परिवर्तनले नयाँ अवसर सिर्जना गरेका छन्। तथापि, यी अवसरको न्यायपूर्ण उपयोगका लागि सार्वजनिक संस्थाको विश्वसनीयता, प्रशासनिक निष्पक्षता र नागरिक उत्तरदायित्व सुदृढ हुन आवश्यक छ।

    नेपालको विकास चुनौतीलाई स्रोत र पुँजीको अभावमा मात्र सीमित गर्न मिल्दैन। उपलब्ध स्रोतको प्रभावकारी परिचालन, सार्वजनिक खर्चको गुणस्तर, नीतिगत निरन्तरता, संस्थागत समन्वय र निर्णय प्रक्रियाको जवाफदेहितासमेत विकासका महत्त्वपूर्ण निर्धारक हुन्। यी पक्षमा नैतिक चरित्र र संस्थागत संस्कृतिको भूमिका रहन्छ।

    सार्वजनिक प्रशासनमा सदाचार, निष्पक्षता, व्यावसायिकता र नागरिकमैत्री व्यवहार संस्थागत हुन सकेमा सार्वजनिक सेवाप्रतिको विश्वास वृद्धि हुन सक्छ। राजनीतिक नेतृत्वले व्यक्तिगत वा दलगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिन सकेमा लोकतान्त्रिक संस्थाको वैधता सुदृढ हुन्छ। नागरिकले पनि अधिकारको मागसँगै कर्तव्य र सार्वजनिक उत्तरदायित्वलाई समान महत्त्व दिनुपर्छ।

    नेपाललाई दक्ष जनशक्ति, आधुनिक प्रविधि र लगानीको आवश्यकता छ; तर यी सबैको प्रभावकारी उपयोगका लागि नैतिक जनशक्ति र विश्वसनीय संस्था पनि उत्तिकै आवश्यक छन्। विकासको भौतिक गति र चरित्र निर्माणको सामाजिक प्रक्रिया बीच सन्तुलन कायम गर्नु नै दिगो समृद्धिको आधार हो।

    सभ्यताको वास्तविक उचाइ निर्धारण गर्ने आधार भौतिक उपलब्धि, आर्थिक आकार वा प्राविधिक क्षमतामा मात्र सीमित हुँदैन। यी उपलब्धिको सामाजिक वितरण, नैतिक उपयोग र अन्तरपुस्तागत प्रभावले समेत सभ्यताको गुणस्तर निर्धारण गर्छन्। चरित्र यस सम्पूर्ण प्रक्रियालाई मानवीय मूल्यसँग जोड्ने आधारभूत तत्त्व हो।

    चरित्रले व्यक्तिको व्यवहारलाई नैतिक दिशा प्रदान गर्छ, सामाजिक सम्बन्धमा विश्वास निर्माण गर्छ र संस्थागत कार्यसम्पादनलाई विश्वसनीय बनाउँछ। आत्मचेतना र नैतिक विवेकबाट विकसित हुने चरित्र परिवार तथा शिक्षामार्फत सामाजिक अभ्यासमा रूपान्तरण हुन्छ र सार्वजनिक संस्थाको आचरणमा अभिव्यक्त हुँदा त्यसले सुशासन तथा लोकतान्त्रिक स्थायित्वलाई सुदृढ बनाउन सक्छ।

    यसर्थ, चरित्र निर्माणलाई व्यक्तिगत सदाचारको सीमित विषयका रूपमा नभई सामाजिक रूपान्तरण, संस्थागत विकास र दिगो सभ्यताको रणनीतिक आधारका रूपमा ग्रहण गर्नुपर्छ। प्रविधिको विकाससँगै नैतिक उत्तरदायित्व, आर्थिक समृद्धिसँगै सामाजिक न्याय, राजनीतिक शक्तिसँगै सार्वजनिक जवाफदेहिता र व्यक्तिगत स्वतन्त्रतासँगै सामाजिक कर्तव्यको सन्तुलन कायम गर्नु आवश्यक छ।

    भावी पुस्तालाई भौतिक सम्पत्ति, आधुनिक पूर्वाधार र प्रविधिगत सुविधा हस्तान्तरण गर्नु विकासको महत्त्वपूर्ण उपलब्धि हो। तर त्यससँगै सत्यनिष्ठा, श्रमको सम्मान, न्यायबोध, करुणा, अनुशासन र सार्वजनिक उत्तरदायित्वका मूल्य हस्तान्तरण गर्न सकिएन भने विकासको दीर्घकालीन आधार कमजोर रहन्छ।

    अन्ततः सभ्यताको भविष्य त्यसले कति शक्तिशाली प्रविधि निर्माण गर्‍यो भन्ने प्रश्नले मात्र निर्धारित हुँदैन; त्यस प्रविधिको प्रयोग गर्ने मानिस कति नैतिक, कति उत्तरदायी र कति मानवीय छ भन्ने प्रश्नले पनि निर्धारित हुन्छ। भौतिक उन्नतिले सभ्यताको आकार निर्माण गर्छ, तर चरित्रको उचाइले त्यसको वास्तविक गुणस्तर र ऐतिहासिक स्थायित्व निर्धारण गर्छ।