प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने रास्वपाको अपेक्षा - Chaitanya News
  • 2026-11-22
  • 13:39:17
  • आइतबार,मंसिर ०७, २०८३
  • प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने रास्वपाको अपेक्षा

    प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा नयाँ आयाम थप्ने रास्वपाको अपेक्षा

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउँदै द्विपक्षीय सहकार्यका नयाँ सम्भावना खोल्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वास व्यक्त गरेको छ।

    रास्वपाले प्रधानमन्त्री शाहको भारत भ्रमण सफलताको शुभकामना दिँदै दुई देशबीच आपसी विश्वास, पारस्परिक सम्मान र समानताका आधारमा सम्बन्ध अघि बढाउन भ्रमण महत्त्वपूर्ण हुने जनाएको छ।

    पार्टीका महामन्त्री विपिन कुमार आचार्यले आइतबार जारी गरेको शुभकामना सन्देशमा भ्रमणबाट राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध थप विस्तार हुने अपेक्षा व्यक्त गरेका छन्। उनका अनुसार साझा हित र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्दा नेपाल–भारत सम्बन्ध अझ प्रभावकारी बन्नेछ।

    रास्वपाका अनुसार प्रधानमन्त्री शाह आइतबार ३४ सदस्यीय टोलीको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणमा प्रस्थान गर्दै छन्। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्।

    भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। ती भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    पार्टीले भ्रमणअघि प्रधानमन्त्री शाह र रास्वपा सभापतिबीच पनि छलफल भएको जनाएको छ। उक्त भेटमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर पारस्परिक सम्मान, समानता र साझा लाभका आधारमा भारतसँगको सम्बन्ध अघि बढाउन सुझाव दिएका थिए।

    रास्वपाले नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको छ।