काठमाडौँ — नेपाल चलचित्र संघको नयाँ अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्। संघको ५२औँ साधारण सभाबाट उनी आगामी तीन वर्षका लागि अध्यक्षमा चयन भएका हुन्।
शनिबार अबेर साँझ सम्पन्न निर्वाचनमा जबराले अध्यक्ष पदका प्रतिस्पर्धी गोपालकाजी कायस्थलाई १६ मतको अन्तरले पराजित गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।
अध्यक्ष पदका लागि प्रतिस्पर्धा भए पनि संघको नयाँ कार्यसमितिका अन्य सदस्य भने निर्विरोध चयन भएका छन्। चलचित्र प्रदर्शकको खुला समूहबाट दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरी सदस्यमा निर्वाचित भएका छन्। त्यसैगरी, चलचित्र वितरकको प्रतिनिधित्व गर्दै करण श्रेष्ठ र गोविन्दबहादुर शाही कार्यसमितिमा आएका छन्।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत कोशी र मधेश प्रदेशबाट चेतन बराल तथा बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चयन भएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्यमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन भएका छन्।
चलचित्र प्रदर्शक तथा वितरकहरूको साझा संस्था नेपाल चलचित्र संघको नयाँ नेतृत्वसामु चलचित्र व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउने चुनौती रहनेछ। विशेषगरी चलचित्र प्रदर्शन तथा वितरण क्षेत्रमा देखिएका समस्या समाधान, व्यवसायको प्रवर्द्धन र नेपाली चलचित्र क्षेत्रको विकासमा जबराको नेतृत्वले कस्तो भूमिका खेल्छ भन्ने चासो बढेको छ।