काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सबै राजनीतिक दललाई समेटेर सहमतिको आधारमा सरकार सञ्चालन गर्ने बताएका छन्। उनले मन्त्रिपरिषद् विस्तारदेखि विश्वासको मत लिनेसम्मका विषयमा सबै दलसँग सहकार्य गरेर अघि बढ्ने योजना सार्वजनिक गरेका छन्।
आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले सोमबारदेखि नै प्रदेशका सबै राजनीतिक दलसँग छलफल थाल्ने जानकारी दिए। यसअघि पहिलो पटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको स्मरण गर्दै उनले यसपटक पनि सबै दलको विश्वास र समर्थन जुटाउने प्रयास गर्ने बताए।
उनका अनुसार मन्त्रिपरिषद् विस्तारको विषय पनि दलहरूसँगको परामर्शपछि मात्रै टुंगो लगाइनेछ। सरकारलाई सर्वपक्षीय सहमतिका आधारमा अगाडि बढाउनु आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारे।
मुख्यमन्त्री यादवले प्रदेशमा पछिल्लो समय सुस्त बनेका विकास निर्माण तथा अन्य सरकारी कामलाई गति दिने प्रतिबद्धता पनि व्यक्त गरे। सीमित समय रहेकाले उपलब्ध समयको प्रभावकारी उपयोग गर्दै प्रदेशको कामकारबाहीलाई तीव्रता दिने उनको भनाइ छ।
त्यसैगरी भ्रष्टाचार नियन्त्रणलाई पनि उनले सरकारको प्रमुख प्राथमिकतामा राखेका छन्। प्रदेशमा देखिएका भ्रष्टाचारका गतिविधि नियन्त्रण गर्दै सबै राजनीतिक शक्तिलाई साथमा लिएर परिणाममुखी काम गर्ने उनले बताए।
‘अब समय थोरै छ। प्रदेशको काम पहिलाभन्दा सुस्त भएको थियो। त्यसलाई गति दिने, भ्रष्टाचार नियन्त्रण गर्ने र सबै दललाई मिलाएर सहमतिको सरकार बनाउँदै राम्रो काम गर्ने हाम्रो योजना छ,’ उनले भने।
यादवले सबै दलको सहमति र समर्थनमा सरकार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी शनिबार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।