राष्ट्रिय खेलकुदको स्तर सुधार्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता - Chaitanya News
  • 2026-11-22
  • 12:53:01
  • आइतबार,मंसिर ०७, २०८३
  • राष्ट्रिय खेलकुदको स्तर सुधार्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    राष्ट्रिय खेलकुदको स्तर सुधार्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय खेलकुद प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्ने र यसको गुणस्तर सुधार गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। लामो समयदेखि निर्धारित तालिकाअनुसार सञ्चालन हुन नसकेको राष्ट्रिय खेलकुदलाई अब निरन्तरता दिने गरी सरकारले काम गर्ने उनको भनाइ छ।

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले २०३८ सालदेखि सुरु भएको प्रतियोगिता हालसम्म नौ पटक मात्रै आयोजना हुन सकेकोप्रति असन्तुष्टि जनाएका छन्।

    हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्य राखिए पनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न नसकिएको उल्लेख गर्दै उनले आगामी दिनमा प्रतियोगितालाई नियमित बनाउने र यसको स्तर उकास्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन्।

    पहिलो पटक कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद आयोजना गर्न लागेको विषयलाई पनि प्रधानमन्त्री शाहले महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्। प्रतियोगिता सफल बनाउन स्थानीय नागरिकको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको उनको भनाइ छ।

    दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। यद्यपि प्रतियोगिताका मुख्य खेलहरू भने मङ्सिर ८ गतेदेखि नै सुरु हुने कार्यक्रम छ। प्रतियोगितामा देशभरबाट आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल पदाधिकारी सहभागी हुनेछन्। कर्णालीका विभिन्न जिल्लामा खेल सञ्चालन गरिनेछ।

    प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुदलाई खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने, नयाँ प्रतिभा पहिचान गर्ने र खेल क्षेत्रको विकासलाई अघि बढाउने महत्त्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेका छन्।

    उनका अनुसार प्रतियोगिताले खेल पूर्वाधारको विकाससँगै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउनेछ। साथै, कर्णालीको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउनुका साथै यस क्षेत्रको आर्थिक सम्भावना उजागर गर्ने अवसर पनि बन्ने उनले विश्वास व्यक्त गरेका छन्।

    प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले ‘जय कर्णाली, जय खेलकुद र जय नेपाल’ भनेका छन्।