चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 29 of 1153
  • 2026-11-23
  • 00:04:21
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नेपालको आधा आयात वीरगञ्जबाट, उत्तरी नाका प्रभावित हुँदा दक्षिणमा व्यापार केन्द्रित

काठमाडौं– नेपालका उत्तरी व्यापारिक नाका बाढीका कारण प्रभावित भएपछि वैदेशिक व्यापारको ठूलो हिस्सा भारततर्फका भन्सार नाकामा केन्द्रित हुन थालेको छ । मुलुकका २८ भन्सार विन्दुबाट वैदेशिक व्यापार भइरहे पनि आयातको झन्डै आधा हिस्सा वीरगञ्ज भन्सार नाकाले ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा नेपालले ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । त्यसमध्ये वीरगञ्ज भन्सार नाकाबाट मात्रै ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको ४८.३० प्रतिशत हो । चीनसँगको व्यापारमा प्रयोग हुने उत्तरी नाकाहरू प्रभावित भएपछि दक्षिणतर्फका नाकामा व्यापारको चाप बढेको देखिन्छ । गत १० भदौको बाढीले नेपाल–चीन व्यापारलाई मुस्ताङ नाकामा सीमित बनाएको थियो । त्यसपछि कालीगण्डकी नदीको बाढीले मुस्ताङ नाका पनि प्रभावित बनेको छ । आयातको परिमाणका आधारमा वीरगञ्जपछि भैरहवा दोस्रो ठूलो भन्सार नाका बनेको छ । पहिलो तीन महिनामा भैरहवा नाकाबाट ९८ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको १५.२८ प्रतिशत हो । त्यस्तै, विराटनगर भन्सारबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । कुल आयातमा यसको हिस्सा १२.११ प्रतिशत छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट ५१ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । यो कुल आयातको ७.९८ प्रतिशत हो । अन्य भन्सार नाकाको आयात हिस्सा तुलनात्मक रूपमा कम छ । नेपालगञ्जबाट २३ अर्ब ९१ करोड, मुस्ताङबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ । यसैबीच, रसुवागढी नाकामा बाढीले क्षति पुर्‍याएपछि चोभारस्थित सुक्खा बन्दरगाहको व्यापारिक गतिविधिसमेत प्रभावित भएको छ । पहिलो तीन महिनामा चोभार भन्सार विन्दुबाट ४ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ । आयातसँगै निर्यातमा पनि वीरगञ्ज भन्सारको हिस्सा उल्लेख्य छ । विभागका अनुसार उक्त अवधिमा नेपालबाट १ खर्ब १४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा वीरगञ्ज नाकाबाट मात्रै ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । वीरगञ्जबाट पेट्रोलियम पदार्थलगायत ठूलो परिमाणमा वस्तु आयात हुने भएकाले यो नाका नेपालको वैदेशिक व्यापारको प्रमुख प्रवेशद्वारका रूपमा रहेको छ । पछिल्लो तथ्यांकले मुलुकको व्यापारिक कारोबार सीमित भन्सार नाकामा केन्द्रित रहेको र उत्तरी नाकामा आउने अवरोधले समग्र व्यापारिक आवागमनमा प्रभाव पार्ने देखाएको छ ।

News by नेपालको आधा आयात वीरगञ्जबाट, उत्तरी नाका प्रभावित हुँदा दक्षिणमा व्यापार केन्द्रित :