कैलाली बहुमुखी क्याम्पसमा यसै वर्षदेखि पत्रकारितामा स्नातकोत्तर पढाइ हुने - Chaitanya News
  • 2026-11-22
  • 21:02:32
  • आइतबार,मंसिर ०७, २०८३
  • कैलाली बहुमुखी क्याम्पसमा यसै वर्षदेखि पत्रकारितामा स्नातकोत्तर पढाइ हुने

    कैलाली बहुमुखी क्याम्पसमा यसै वर्षदेखि पत्रकारितामा स्नातकोत्तर पढाइ हुने

    धनगढीः कैलाली बहुमुखी क्याम्पसले चालु शैक्षिक सत्र २०८३/८४ देखि स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता विषयको अध्यापन सुरु गर्ने भएको छ। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायमा उक्त विषयको पढाइ सञ्चालन गर्न लागिएको हो।

    आइतबार क्याम्पसमा पत्रकारहरूसँग आयोजित सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले चालु शैक्षिक सत्रदेखि नै पत्रकारिता तथा आमसञ्चार विषयको अध्यापन सुरु गरिने जानकारी दिए।

    स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारूप तयार भइसकेको र अध्यापन सञ्चालनको तयारी अघि बढाइएको क्याम्पसले जनाएको छ। पाठ्यक्रमलाई थप व्यावहारिक, समयसापेक्ष तथा सञ्चार क्षेत्रको आवश्यकता अनुकूल बनाउन पत्रकारहरूसँग सुझाव संकलन गरिएको हो।

    कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. मोहनसिंह साउदले पत्रकारिता शिक्षालाई समयको माग र श्रमबजारको आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिएका थिए।

    छलफलमा सहभागी पत्रकारहरूले पत्रकारिता शिक्षालाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक अभ्यासमा आधारित बनाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले डिजिटल पत्रकारिता, मल्टिमिडिया, तथ्य जाँच, अनुसन्धान तथा समाचार उत्पादनजस्ता विषयलाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

    पत्रकारहरूले विश्वविद्यालयको पाठ्यक्रमलाई सञ्चार क्षेत्रको बदलिँदो स्वरूप र व्यावसायिक अभ्याससँग जोड्नुपर्ने सुझाव दिँदै पत्रकारिता शिक्षामा व्यवहारिक ज्ञान र सीपलाई विशेष महत्व दिनुपर्ने बताएका थिए।

    कैलाली बहुमुखी क्याम्पसमा लामो समयदेखि स्नातक तहमा अध्यापन हुँदै आएको पत्रकारिता विषयलाई स्नातकोत्तर तहसम्म विस्तार गर्न लागिएकोमा सहभागी पत्रकारहरूले खुसी व्यक्त गरेका थिए।