चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 138 of 1151
  • 2026-11-21
  • 04:44:12
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

करदाता प्रोत्साहन कार्यक्रमको पहिलो लकी ड्रः २५० रुपैयाँ खर्च गर्ने बने १० लाखका विजेता

काठमाडौँ– सरकारले बिल लिने र बिल दिने संस्कार प्रवर्द्धन गर्न सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको लकी ड्रमा २५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा शुक्रबार आन्तरिक राजस्व विभागले साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता तथा करदातामध्येबाट पहिलो चरणको लकी ड्रमार्फत विजेता छनोट गरेको हो। विभागका अनुसार कुपन नम्बर ००७३१५२५४४९३ का उपभोक्ता बम्पर विजेता बनेका छन्। पुरस्कार रकममा लागू हुने २५ प्रतिशत कर कट्टा गरी ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिनेछ। यस्तै, अन्य १५ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। कर कट्टापछि प्रत्येक विजेताले १ लाख रुपैयाँ हात पार्नेछन्। पहिलो चरणको लकी ड्रमा दुई करोड ५६ लाख ८ हजार ९४ वटा विद्युतीय कारोबार र ७ हजार ७७ वटा नगद कारोबार सहभागी भएका थिए। विजेता छनोटका लागि ‘क्रिप्टोग्राफिकली सेक्योर युनिफर्म र्‍यान्डम स्याम्पलिङ विदआउट रिप्लेसमेन्ट’ प्रविधि प्रयोग गरिएको विभागले जनाएको छ। यसबाट प्रत्येक कुपनले समान अवसर पाउने र छनोट प्रक्रिया निष्पक्ष तथा सुरक्षित रहने विश्वास गरिएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बिल माग्ने र बिल जारी गर्ने संस्कार विकास गर्न यो नागरिक केन्द्रित कार्यक्रम सुरु गरेको हो। कर चुहावट नियन्त्रण, आर्थिक पारदर्शिता प्रवर्द्धन तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। कार्यक्रममा सहभागी हुन नगद भुक्तानी गरी कम्तीमा १०० रुपैयाँको वस्तु वा सेवा खरिद गरी सक्कली बिल लिएका उपभोक्ताले सम्बन्धित वेबसाइटमा बिल नम्बर, विक्रेताको प्यान नम्बर लगायतका विवरण अपलोड गर्नुपर्छ। विद्युतीय भुक्तानीबाट भएका कारोबार भने प्रणालीमार्फत स्वतः लकी ड्रमा समावेश हुने व्यवस्था गरिएको छ।

News by करदाता प्रोत्साहन कार्यक्रमको पहिलो लकी ड्रः २५० रुपैयाँ खर्च गर्ने बने १० लाखका विजेता :