काठमाडौँ– सडक विभागले सडक विस्तार आयोजनामा विद्युत् पोल स्थानान्तरणको ढिलाइ नै सबैभन्दा ठूलो अवरोध बनेको जनाएको छ। विभागका महानिर्देशक डा. विजय जैसीले समयमै पोल नसारिँदा निर्माण कार्य लम्बिने, निर्माण व्यवसायीले क्षतिपूर्ति दाबी गर्ने र त्यसको आर्थिक भार अन्ततः राज्यले नै व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
शुक्रवार संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले नागढुङ्गा–मुग्लिङ सडक खण्डमा पाँच वर्षदेखि पोल स्थानान्तरणको प्रयास भइरहे पनि अझै १८२ वटा पोल सार्न बाँकी रहेको जानकारी दिए। उनका अनुसार पोल नसारिएकै कारण कतिपय स्थानमा बीच सडकमै पोल राखेर कालोपत्रे गर्नुपर्ने अवस्था आएको छ भने निर्माण व्यवसायीले पनि काम ढिला गर्ने बहाना पाएका छन्।
उनले सडकको राइट अफ वेभित्र पोल गाड्न सडक विभागले सहजीकरण गरे पनि सडक विस्तारका बेला नेपाल विद्युत् प्राधिकरणबाट अपेक्षित सहयोग र तदारुकता नपाएको बताए। पोल गाड्ने तथा तार व्यवस्थापनमा हुने ढिलाइले अधिकांश सडक आयोजना प्रभावित बनेको उनको भनाइ थियो।
महानिर्देशक जैसीले एउटै निर्माण व्यवसायीले धेरै आयोजना हात पारेर जनशक्ति अभाव देखाउने प्रवृत्तिले पनि सडक निर्माणमा ढिलाइ थपिएको उल्लेख गरे। अहिले ऊर्जा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच समन्वय गरेर समस्या समाधान गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।
उनका अनुसार नारायणघाट–बुटवल, मुग्लिङ–पोखरा र सूर्यविनायक–धुलिखेल सडक आयोजना सम्पन्न हुने चरणमा पुगेका छन्। पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर ब्रिज’ नेपाली प्राविधिककै डिजाइन र नेतृत्वमा नयाँ ‘एक्स्ट्राडोज’ प्रविधिबाट निर्माण भइरहेको र काम सन्तोषजनक रूपमा अघि बढिरहेको उनले बताए।
सडक विस्तारमा भएको ढिलाइका कारण सर्वसाधारणले धुलो र हिलोको समस्या भोग्नुपरेको स्वीकार गर्दै उनले बाँकी अवरोध हटाएर आयोजनालाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरे।