‘चीन–भारतको आर्थिक उन्नतिलाई नेपालले अवसरका रूपमा उपयोग गर्नुपर्छ’ : परराष्ट्रमन्त्री खनाल - Chaitanya News
  • 2026-08-07
  • 13:36:57
  • शुक्रबार,साउन २२, २०८३
  • ‘चीन–भारतको आर्थिक उन्नतिलाई नेपालले अवसरका रूपमा उपयोग गर्नुपर्छ’ : परराष्ट्रमन्त्री खनाल

    ‘चीन–भारतको आर्थिक उन्नतिलाई नेपालले अवसरका रूपमा उपयोग गर्नुपर्छ’ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले चीन र भारतको तीव्र आर्थिक विकासलाई नेपालका लागि व्यापार, लगानी, पर्यटन र पूर्वाधार विस्तारको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। उनले नेपाललाई चीन र दक्षिण एसियाबीचको गतिशील आर्थिक पुलका रूपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे।

    ललितपुरमा आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया: विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताए।

    उनका अनुसार आर्थिक कूटनीतिको मुख्य उद्देश्य व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन तथा दिगो विकासका अवसर विस्तार गर्दै नेपाली नागरिकको जीवनस्तर उकास्नु हो।

    मन्त्री खनालले नेपालले आफ्ना दुवै छिमेकी चीन र भारतसँग सार्वभौम समानता, पारस्परिक सम्मान र साझा हितका आधारमा सम्बन्ध अघि बढाइरहेको उल्लेख गर्दै चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले प्रभावकारी पुलको भूमिका खेल्न सक्ने बताए।

    दक्षिण एसियामा आर्थिक विकासको ठूलो सम्भावना भए पनि अपेक्षाअनुसार क्षेत्रीय आर्थिक एकीकरण हुन नसकेको उल्लेख गर्दै उनले कनेक्टिभिटी, सहज व्यापार, लगानी प्रवाह र आपूर्ति शृङ्खला सुदृढ गर्न सके क्षेत्रीय समृद्धिले गति लिने बताए।

    उनले सरकारको प्राथमिकता गुणस्तरीय लगानी, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन, पर्यटन, स्वच्छ ऊर्जा, डिजिटल रूपान्तरण, नवप्रवर्तन र निजी क्षेत्रको विकासमा केन्द्रित रहेको जानकारी दिए। साथै, भगवान् बुद्धको जन्मस्थल, गुरु पद्मसम्भवको आध्यात्मिक विरासत, सगरमाथा र विश्व सम्पदाले नेपालको सौम्य शक्ति अझ बलियो बनाएको उल्लेख गरे।

    मन्त्री खनालले क्षेत्रीय सहकार्य, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, अनुसन्धान, नवप्रवर्तन तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउन विश्वविद्यालय र अनुसन्धान संस्थाबीचको सहकार्य विस्तार गर्नुपर्नेमा पनि जोड दिए।