आफ्नो खुसी र सफलताको चाबी आफैँसँग राख्नुहोस् - Chaitanya News
  • 2026-08-07
  • 10:43:52
  • शुक्रबार,साउन २२, २०८३
  • आफ्नो खुसी र सफलताको चाबी आफैँसँग राख्नुहोस्

    आफ्नो खुसी र सफलताको चाबी आफैँसँग राख्नुहोस्

    गणेश जोशी:

    वैदिक दर्शनको एउटा शाश्वत उद्घोष छ-हामी सबै मानिस खुसी र सफल हुन जन्मिएका हौँ। खुसी र आनन्दित भएर बाँच्नु हरेक मानवजातिको जन्मसिद्ध अधिकार मात्र होइन, उसको अन्तर्निहित स्वभाव पनि हो। तर, २१औँ शताब्दीको आधुनिक, प्रविधिमैत्री र भौतिक रूपमा समृद्ध समाजको वास्तविकता हेर्ने हो भने चित्र बिल्कुल फरक देखिन्छ। आज कर्पोरेट हाउसका सीईओदेखि सडकका मजदुरसम्म, विश्वविद्यालयका प्राध्यापकदेखि युवा विद्यार्थीसम्म-हरेक क्षेत्रका मानिसहरूमा खुसीभन्दा बढी नैराश्यता, तनाव र रित्तोपन देखिन्छ। आखिर किन भइरहेछ यस्तो? खुसी र सफलताको वास्तविक स्रोत के हो? यसका लागि को जिम्मेवार छ-तपाईं स्वयं कि कोही अरू? सबैभन्दा ठूलो प्रश्न: तपाईं आफ्नो खुसी र सफलताको ‘रिमोट कन्ट्रोल’ वा चाबी आफैँसँग राख्नुहुन्छ कि अरू कसैको हातमा सुम्पिदिनुहुन्छ?

    १.आत्म-बोध (Self-Realization): खुसीको आन्तरिक स्रोत:
    वैदिक वाङ्मयको सार नै आत्म-बोध हो। उपनिषदमा भनिएको छ “अहं ब्रह्मास्मि” र “तत्त्वमसि” अर्थात् तिमी जुन आनन्द र शक्तिको खोजी गरिरहेका छौ, त्यो तिमीभित्रै छ। हामीले गल्ती कहाँ गरिरहेका छौँ भने, हामी आफ्नो खुसीलाई बाह्य परिस्थिति, वस्तु वा अरू मानिसको व्यवहारसँग जोडिदिन्छौँ।

    जब तपाईं सोच्नुहुन्छ, “कसैले मेरो प्रशंसा गरे म खुसी हुन्छु, कसैले गाली गरे म दुःखी हुन्छु,” त्यतिबेलै तपाईंले आफ्नो मानसिक शान्तिको चाबी अरूलाई सुम्पिनुभएको हुन्छ। २१औँ शताब्दीको चेतनाले हामीलाई यो सिकाउँछ कि बाह्य संसारलाई पूर्ण रूपमा नियन्त्रण गर्न असम्भव छ, तर आफ्नो आन्तरिक जगतलाई नियन्त्रण गर्न पूर्ण रूपमा सम्भव छ। आत्म-बोधको अर्थ नै यही हो कि म बाहिरका घटनाहरूको कठपुतली होइन, म मेरो भावनाको मालिक हुँ।

    २.श्रीमद्भगवद्गीताको दर्शन: निष्काम कर्मयोग (Selfless Motive of Work):
    श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णले मानव जीवनको सबैभन्दा ठूलो संकटको समाधान दिनुभएको छ। गीताको दोस्रो अध्यायको ४७औँ श्लोक निकै प्रसिद्ध छ:

    कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
    मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥
    यसको अर्थ हो—तिम्रो अधिकार केवल कर्म गर्नमा मात्रै छ, त्यसको फलमा प्राप्तिमा छैन। आजको मानिस निराश हुनुको मुख्य कारण कर्म गर्नुअघि नै ‘फल’ को अत्यधिक चिन्ता गर्नु हो। जब हामी स्वार्थी भावना (Selfish Motive) र अपेक्षाको भारी बोकेर काम गर्छौँ, तब डर र तनावको जन्म हुन्छ।

    गीताले हामीलाई ‘निष्काम कर्म’ अर्थात् स्वार्थरहित उद्देश्य (Selfless Motive) का साथ काम गर्न सिकाउँछ। निष्काम कर्मको अर्थ परिणामविहीन काम गर्नु होइन, बल्कि कामको गुणस्तरमा यति केन्द्रित हुनु हो कि परिणाम आफैँ उत्कृष्ट निस्कियोस्। जब तपाईं समाजको हितका लागि, आफ्नो कर्तव्य पूरा गर्नका लागि निस्वार्थ भावले काम गर्नुहुन्छ, तब कर्म आफैँ आनन्दको स्रोत बन्छ। त्यस्तो अवस्थामा असफलताले पनि तपाईंलाई तोड्न सक्दैन, किनकि तपाईंको खुसी परिणाममा होइन, यात्रामा लुकेको हुन्छ।

    ३.वैज्ञानिक तथ्य: खुसीको न्यूरोसाइन्स (Neuroscience of Happiness):
    प्राचीन वैदिक दर्शनले जे भन्यो, आजको आधुनिक विज्ञान र मनोविज्ञानले त्यसलाई प्रमाणित गरिरहेको छ। वैज्ञानिक तथ्यहरूका अनुसार हाम्रो मस्तिष्कमा निस्कने चारवटा मुख्य रसायनहरू (Neurotransmitters) ले हाम्रो खुसीको निर्धारण गर्छन्: Dopamine (पुरस्कारको भावना), Oxytocin (सम्बन्ध र विश्वास), Serotonine (मुड व्यवस्थापन), र Endorphins (दुखाइ कम गर्ने)।

    * सकारात्मक सोच र ध्यान (Meditation): वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन् कि जब हामी ध्यान गर्छौँ वा आत्म-जागरुक हुन्छौँ, हाम्रो मस्तिष्कको ‘Prefrontal Cortex’ (जसले सकारात्मक भावना नियन्त्रण गर्छ) सक्रिय हुन्छ।

    * निस्वार्थ सेवा र रसायन: जब हामी कसैलाई निस्वार्थ भावले मद्दत गर्छौँ, मस्तिष्कमा ‘Oxytocin’ र ‘Serotonin’ को मात्रा ह्वात्तै बढ्छ। विज्ञानले यसलाई “Helper’s High” भन्छ। अर्थात्, गीताको निष्काम कर्म र निस्वार्थ भावले मानिसलाई जैविक रूपमै बढी खुसी र स्वस्थ बनाउँछ।

    तसर्थ, खुसी कुनै दार्शनिक गफ मात्र होइन, यो एक वैज्ञानिक सत्य हो जसको रासायनिक कारखाना हाम्रै मस्तिष्कभित्र छ। यसको स्विच अरू कसैको हातमा हुनै सक्दैन।

    ४.आत्म-चेतना (Self-Awareness) र २१औँ शताब्दीको चेतना:
    २१औँ शताब्दी सूचना र प्रविधिको युग हो, तर यो तीव्र प्रतिस्पर्धा र मानसिक संकटको युग पनि हो। आज हामी ‘Information Overload’ र सामाजिक सञ्जालको ‘Validation’ (अरूको लाइक र कमेन्ट) को चक्रव्यूहमा फसेका छौँ। अरूसँग तुलना गर्दागर्दै हामीले आफ्नो मौलिकता गुमाउँदै गएका छौँ।

    यो युगमा बाँच्नका लागि आत्म-चेतना (Self-Awareness) सबैभन्दा ठूलो हतियार हो। आत्म-चेतनाको अर्थ होःआफ्ना विचार, भावना, शक्ति र कमजोरीहरूलाई नजिकबाट नियाल्नु। जब तपाईं आत्म-जागरुक हुनुहुन्छ, तब तपाईंलाई थाहा हुन्छ कि अरूको प्रगति देखेर ईर्ष्या गर्नु वा अरूको आलोचनाले पछि हट्नु व्यर्थ छ। २१औँ शताब्दीको उच्च चेतना (Higher Consciousness) ले भन्छ-“म कसै भन्दा कम छैन, र म कसैसँग प्रतिस्पर्धामा पनि छैन। मेरो प्रतिस्पर्धा केवल हिजोको म आफैँसँग हो।”

    ५.आत्म-विश्वास (Self-Confidence): सफलताको आधारशिला:
    जब आत्म-बोध र आत्म-चेतनाको विकास हुन्छ, तब जन्मिन्छ एउटा अडिग आत्म-विश्वास (Self-Confidence)। आत्म-विश्वास त्यो शक्ति होइन जसले भन्छ “मलाई सबैले मन पराउनेछन्,” बल्कि यो त त्यो शक्ति हो जसले भन्छ “यदि कसैले मलाई मन पराएन भने पनि म ठीक छु।”

    आफ्नो क्षमतामाथि विश्वास राख्नुहोस्। इतिहास साक्षी छ, संसारमा जति पनि महान व्यक्तिहरू भए-चाहे ती भगवान वुद्ध हुन, स्वामी विवेकानन्द हुन्, महात्मा गान्धी हुन्, वा आधुनिक युगका स्टिभ जोब्स र एलन मस्क-उनीहरूले पहिले आफैँलाई चिने र आफ्नो सोचमा अडिग रहे। उनीहरूले आफ्नो सफलताको चाबी समाजको मान्यता वा मानिसहरूको धारणाको हातमा सुम्पिएनन्।

    निष्कर्ष: आफ्नो रिमोट कन्ट्रोल आफ्नै हातमा राख्नुहोस्:
    तपाईंको जीवन एउटा सुन्दर उपहार हो। आजैदेखि एउटा संकल्प गर्नुहोस्: मेरो खुसीको रिमोट कन्ट्रोल म कसैलाई दिने छैन।
    * यदि कसैले तपाईंको चित्त दुखायो भने, सम्झनुहोस्ः चित्त दुखाउने अनुमति तपाईंले नै दिनुभएको हो।
    * यदि कुनै काममा असफलता मिल्यो भने, सम्झनुहोस्: यो गीताले भनेको जस्तै एउटा अनुभव हो, अन्त्य होइन।
    * जब तपाईं निस्वार्थ भावले कर्म गर्नुहुन्छ, आफैँमाथि विश्वास राख्नुहुन्छ र आफ्नो मानसिक शान्तिको जिम्मेवारी आफैँ लिनुहुन्छ, तब तपाईंलाई संसारको कुनै पनि शक्तिले दुःखी वा असफल बनाउन सक्दैन।

    आफ्नो खुसी र सफलताको चाबी आफैँसँग सुरक्षित राख्नुहोस्। उठ्नुहोस्, जागृत हुनुहोस्, आफैँलाई चिन्नुहोस् र आनन्दित भई अगाडि बढ्नुहोस्। तपाईं खुसी र सफल हुनकै लागि जन्मनुभएको हो!

    सर्वे भवन्तु सुखिन:
    (जोशी संस्कार सहितको शैक्षिक अभियन्ता र चैतन्य पाठशाला धनगढीका अध्यक्ष हुनु हुन्छ)