काठमाडौँ– उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकार र निजी क्षेत्रले श्रम बजारको मागअनुसार सीप विकास कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्। तालिमलाई रोजगारीसँग प्रत्यक्ष जोड्ने र उद्योगको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित दुवै पक्षले सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने निर्णय गरेका हुन्।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा विभिन्न व्यवसायी महासंघ तथा संघका पदाधिकारीसँग भएको छलफलमा उद्योग तथा व्यवसायले खोजिरहेको सीपयुक्त जनशक्ति उत्पादन गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो।
बैठकमा श्रम बजारको वास्तविक माग र उपलब्ध जनशक्तिको सीपबीच देखिएको अन्तरलाई कम गर्न तालिम कार्यक्रमलाई उद्योगको आवश्यकताअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो। साथै, तालिम प्राप्त व्यक्तिलाई रोजगारीका अवसरसँग प्रत्यक्ष रूपमा आबद्ध गर्ने विषयमा पनि सहमति जुटेको छ।
छलफलपछि रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि तथा दक्ष जनशक्ति विकासका लागि सरकार र निजी क्षेत्रबीच नियमित संवाद र समन्वयलाई संस्थागत रूपमा अघि बढाउने निर्णय गरिएको छ।
सरकारले अब निजी क्षेत्रको जनशक्ति आवश्यकतालाई आधार बनाएर सीप विकासका कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गर्ने भएको छ। यसबाट उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन हुने र रोजगारीका अवसरसमेत विस्तार हुने अपेक्षा गरिएको छ।