डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘नेशनल लोटरी स्किम’ सुरु, बिल लिने संस्कृतिको विकासमा जोड - Chaitanya News
  • 2026-08-07
  • 11:38:26
  • शुक्रबार,साउन २२, २०८३
  • डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘नेशनल लोटरी स्किम’ सुरु, बिल लिने संस्कृतिको विकासमा जोड

    डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘नेशनल लोटरी स्किम’ सुरु, बिल लिने संस्कृतिको विकासमा जोड

    काठमाडौँ– सरकारले डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्दै मुलुकमा बिल लिने–दिने संस्कृतिको विकास गर्ने उद्देश्यले ‘नेशनल लोटरी स्किम’ औपचारिक रूपमा सुरु गरेको छ।

    शुक्रवार अर्थ मन्त्रालयमा आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को पहिलो घोषणा समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन्।

    उनका अनुसार कार्यक्रमको मुख्य लक्ष्य आर्थिक कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्नु, प्रत्येक कारोबारलाई अभिलेखीकरण (रेकर्ड) गर्नु तथा कर प्रणालीलाई थप पारदर्शी बनाउनु हो। विगतमा म्यानुअल रूपमा सञ्चालन हुँदै आएको यस्ता कार्यक्रमलाई अहिले ‘क्रिप्टोग्राफिक’ र ‘र्‍याण्डम सेलेक्सन’ प्रविधिमार्फत आधुनिक बनाइएको उनले बताए।

    अर्थमन्त्रीका अनुसार हालसम्म फोन–पे लगायतका डिजिटल माध्यमबाट भएका करिब २ करोड कारोबार, जसको मूल्य ७६ अर्ब रुपैयाँभन्दा बढी छ, स्वतः यो प्रणालीमा आबद्ध भइसकेका छन्। आगामी दिनमा डिजिटल कारोबारको दायरा अझ विस्तार हुने सरकारको अपेक्षा रहेको उनले बताए।

    राजश्व चुहावट नियन्त्रण, करको दायरा विस्तार तथा अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउन यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले चालु आर्थिक वर्षको १,५८० अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य हासिल गर्न पनि यसले सहयोग पुग्ने बताए।

    उनले डिजिटल युगमा हरेक आर्थिक कारोबार रेकर्ड तथा ट्रेस गर्न सकिने हुनुपर्ने उल्लेख गर्दै उपभोक्ताबाट संकलित करको प्रयोगमा पारदर्शिता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए। सुरुआती चरणमा दण्डात्मकभन्दा प्रोत्साहनमुखी नीति अपनाइने र बिल नकाट्ने तथा नक्कली कारोबार गर्ने व्यवसायीलाई ‘फ्रेन्डली रिमाइण्डर’ तथा ‘फ्रेन्डली भिजिट’ मार्फत औपचारिक कर प्रणालीमा सहभागी गराइने उनले स्पष्ट पारे।

    ताइवान, पूर्वी युरोप तथा दक्षिण–पूर्वी एसियाली मुलुकका सफल अभ्यासबाट प्रेरित भएर नेपालको आवश्यकता अनुसार यो कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले देशभर बिल लिने–दिने संस्कृतिको विकासका लागि सञ्चारमाध्यमको सहयोग पनि आवश्यक रहेको बताए।

    सरकारले प्रारम्भिक चरणमा करदाता प्रोत्साहनमा जोड दिए पनि आगामी दिनमा कानुनको प्रभावकारी कार्यान्वयनतर्फ क्रमशः अघि बढ्ने योजना रहेको जनाएको छ।