चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1166
  • 2026-11-29
  • 11:51:04
  • आइतबार,मंसिर १४, २०८३

About Author

भारतबाट १५० मेगावाट विद्युत् ल्याउने तयारी, प्राधिकरणद्वारा प्रतिस्पर्धात्मक प्रस्ताव आह्वान

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यसहित प्राधिकरणले भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक प्रस्ताव माग गरेको हो। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै राउन्ड द क्लक (आरटीसी) अर्थात् २४ सै घण्टा निरन्तर विद्युत् उपलब्ध गराउने गरी विद्युत् खरिद गर्न लागेको जनाएको छ। विद्युत् खरिद प्रक्रियामा भारतका क्याटागोरी–१, २ र ३ अन्तर्गत विद्युत् व्यापारको अनुमतिपत्र प्राप्त कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रस्ताव पेस गर्न इच्छुक कम्पनीले आगामी २८ डिसेम्बर २०२६ (१३ पुस २०८३) दिउँसो १२ बजेसम्म बोलपत्र बुझाइसक्नुपर्नेछ। प्राधिकरणले सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोल्ने कार्यतालिका सार्वजनिक गरेको छ। बोलपत्रमा सहभागी हुन भारतीय रुपैयाँ १२ हजार ५०० वा सो बराबरको नेपाली रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ। यस्तै, प्रस्तावित विद्युत् क्षमताको प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारतीय रुपैयाँका दरले धरौटी (अर्नेस्ट मनी डिपोजिट) राख्नुपर्नेछ। बोलपत्रसम्बन्धी आवश्यक कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र पोर्टलबाट डाउनलोड गर्न सकिने प्राधिकरणले जनाएको छ । इच्छुक कम्पनीले पनि सोही पोर्टलमार्फत विद्युतीय रूपमा प्रस्ताव पेस गर्नुपर्नेछ। प्राप्त प्रस्तावको प्राविधिक पक्षको मूल्यांकनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा बोलपत्र खोलिनेछ। उक्त प्रक्रियामा सहभागी हुन चाहने कम्पनीका प्रतिनिधिले उपस्थित हुन सक्नेछन्। प्राधिकरणले प्राप्त प्रस्तावमध्ये कुनै एक वा सबै प्रस्ताव स्वीकार अथवा अस्वीकार गर्न सक्ने अधिकारसमेत सुरक्षित राखेको छ।

News by भारतबाट १५० मेगावाट विद्युत् ल्याउने तयारी, प्राधिकरणद्वारा प्रतिस्पर्धात्मक प्रस्ताव आह्वान :