काठमाडौँ — नापी विभागमा विवाद र असन्तुष्टिको विषय बनेको कर्मचारी सरुवा निर्णय अन्ततः परिमार्जन गरिएको छ। तत्कालीन महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा भएको सरुवामा अनियमितता र मापदण्ड उल्लंघन भएको आरोप उठेपछि रोकिएको प्रक्रिया नयाँ मापदण्डअनुसार अघि बढाइएको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यसअघि एकमुष्ट बदर गरेको सरुवा निर्णय पुनरावलोकन गर्दै विभागले १५९ जना नापी अधिकृतको नयाँ सरुवा सूची सार्वजनिक गरेको छ।
शुक्रवार सार्वजनिक गरिएको सूचीमा यसअघि सरुवाप्रति असन्तुष्टि जनाएका कर्मचारी तथा मापदण्डविपरीत सरुवा गरिएको भनिएका विषयलाई सम्बोधन गर्ने प्रयास गरिएको विभागले जनाएको छ।
यसअघि असोज २३ गते विभागले एकैपटक ८५७ कर्मचारीको सरुवा गरेको थियो। जसमा १०३ नापी अधिकृत, ४९८ सर्वेक्षक र २५६ अमिन थिए। तर उक्त सरुवा प्रक्रिया पारदर्शी नभएको, पहुँचका आधारमा आकर्षक कार्यालय रोज्ने अवसर सीमित कर्मचारीले पटक–पटक पाएको र दुर्गम क्षेत्रमा लामो समयदेखि कार्यरत कर्मचारीलाई प्राथमिकता नदिइएको भन्दै आलोचना भएको थियो।
यस विषयलाई प्रशासन डटकमले निरन्तर उठाउँदै आएपछि मन्त्री रावलले कात्तिक १८ गते मन्त्रीस्तरीय निर्णयबाट सम्पूर्ण सरुवा बदर गरेकी थिइन्।
सरुवा बदर भएपछि विभागलाई नयाँ मापदण्ड बनाएर प्रक्रिया अघि बढाउनुपर्ने दबाब परेको थियो। त्यसपछि कर्मचारीको सेवा अवधि, भौगोलिक क्षेत्र, कार्यालयको कार्यबोझ, योग्यता र अनुभवलाई आधार मानेर नयाँ सरुवा मापदण्ड तयार पारियो।
सोही मापदण्ड कार्यान्वयन गर्दै विवादित सरुवा व्यवस्थापनको जिम्मेवारी पाएका महानिर्देशक जनकराज जोशीको नेतृत्वमा अहिले १५९ नापी अधिकृतको परिमार्जित सूची सार्वजनिक गरिएको हो।
नयाँ सूची सार्वजनिक भएसँगै यसअघि सरुवा प्रक्रियामा असन्तुष्टि जनाएका कर्मचारीको गुनासो कति सम्बोधन भयो भन्ने चासो पनि बढेको छ। सरुवा सच्याउनु मात्रै पर्याप्त नभई अघिल्लो निर्णयमा भएको भनिएको मापदण्ड उल्लंघन र अनियमितताबारे निष्पक्ष छानबिन हुनु पनि आवश्यक देखिन्छ।
किनकि कर्मचारी सरुवा प्रशासनिक नियमितता मात्रै होइन, यसले सरकारी सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन र दुर्गम क्षेत्रका कार्यालयको जनशक्ति व्यवस्थापनमा समेत प्रत्यक्ष प्रभाव पार्छ।
अब चासोको विषय नयाँ सूची कसरी तयार भयो भन्ने मात्रै होइन, यसले पहुँच र प्रभावका आधारमा सरुवा हुने पुरानो प्रवृत्तिलाई साँच्चिकै रोक्न सक्यो कि सकेन भन्ने पनि हो।



