धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन - Chaitanya News
  • 2026-11-27
  • 15:19:02
  • शुक्रबार,मंसिर १२, २०८३
  • धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

    धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

    धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। अस्पतालबाट निस्कने जोखिमयुक्त स्वास्थ्यजन्य फोहोरलाई सङ्क्रमणरहित बनाएर सुरक्षित व्यवस्थापन गर्ने उद्देश्यले उपमहानगरपालिकाले वडा नम्बर २ मा केन्द्र सञ्चालनमा ल्याएको हो।

    मङ्सिर ११ गते वडाध्यक्ष धर्मराज ओझाले केन्द्रको उद्घाटन गरेका हुन्।

    धनगढीका अस्पतालबाट निस्कने जोखिमयुक्त स्वास्थ्यजन्य फोहोर व्यवस्थित रूपमा सङ्कलन गरी निःसंक्रमण गरेर व्यवस्थापन गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। उनका अनुसार अब अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर उपमहानगरपालिकाले व्यवस्थित रूपमा सङ्कलन गरी केन्द्रमा व्यवस्थापन गर्नेछ।

    उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि शुल्कसमेत निर्धारण गरेको छ। जसअनुसार निःसंक्रमण नगरिएको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गरेबापत प्रतिकिलो ६० रुपैयाँ र निःसंक्रमण गरिएको फोहोर व्यवस्थापन गरेबापत प्रतिकिलो ३५ रुपैयाँ शुल्क लिइनेछ।

    उपमहानगरपालिकाको वातावरण शाखा प्रमुख अशोक अवस्थीका अनुसार नेपाल सरकारका ऐन तथा कानुनअनुसार उपमहानगरपालिकाले आफ्नै सवारीसाधन प्रयोग गरेर अस्पतालबाट फोहोर सङ्कलन गर्नेछ। सङ्कलित फोहोर व्यवस्थापन केन्द्रमा ल्याएर सुरुमा सङ्क्रमणरहित बनाइने र त्यसपछि टिन तथा प्लास्टिकका रूपमा छुट्याएर व्यवस्थापन गरिनेछ।

    फोहोर व्यवस्थापनमा धनगढी उपमहानगरपालिकालाई नेपालकै नमुना पालिका बनाउने अभियानअन्तर्गत सामुदायिक तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको काम अघि बढाइएको नगरप्रमुख गोपाल हमालले बताए। केन्द्र सञ्चालनमा आएपछि धनगढीका अस्पताललाई स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा ठूलो राहत पुग्ने उनको भनाइ छ।

    नगरप्रमुख हमालका अनुसार एक सय शय्याका अस्पतालले अनिवार्य रूपमा आफ्नै फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्ने व्यवस्था भए पनि साना अस्पतालमा त्यस्तो सुविधा नहुँदा स्वास्थ्यजन्य फोहोर जथाभावी फाल्ने समस्या देखिएको थियो।

    उनले भने, ‘एक सय शय्या भएका अस्पतालले अनिवार्य रूपमा आफ्नै फोहोर व्यवस्थापन केन्द्र बनाउनुपर्छ। तर, साना अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र नभएका कारण फोहोर जथाभावी फालिएको पनि पाइएको थियो। अब सहज हुनेछ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा पनि हामी कडाइ गर्नेछौँ।’

    धनगढीलाई सरसफाइ, उज्यालो र हरित सहरका रूपमा विकास गर्ने अभियानसँगै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोरको सुरक्षित व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ। नगरप्रमुख हमालले धनगढीलाई फोहोर व्यवस्थापनको नमुना पालिकाका रूपमा स्थापित गर्न नागरिक, स्वास्थ्य संस्था तथा सरोकारवाला सबैलाई सकारात्मक सहयोग गर्न आग्रह गरेका छन्।