दार्चुलाः दार्चुलाको अपि हिमाल गाउँपालिका सडक सञ्जालसँग जोडिएको छ। सडकमार्गले अहिलेसम्म नछोएको गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा शुक्रबार पहिलोपटक गाडी पुगेको हो।
गाउँपालिकाको सदरमुकाम खण्डेश्वरीमा सडकको अस्थायी ट्रयाक निर्माण सम्पन्न भएसँगै जिप पुगेको गाउँपालिकाले जनाएको छ। यससँगै दार्चुलाका नौवटै स्थानीय तहका केन्द्र सडक सञ्जालमा जोडिएका छन्।
गाउँपालिकाको केन्द्रसम्म सडक पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ। सडक पहुँच विस्तारसँगै स्थानीयको आवागमन सहज हुनुका साथै विकास निर्माण, सेवा प्रवाह र दैनिक जनजीवनमा समेत सकारात्मक प्रभाव पर्ने गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो।
उहाँका अनुसार पहिलो चरणमा गाउँपालिकाको केन्द्रसम्म अस्थायी सडक ट्रयाक खोलिएको हो। सडक पुगेपछि अब स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
सडक निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएपछि अपि हिमाल गाउँपालिका परिवारले निर्माणमा योगदान पुर्याउने निर्माण व्यवसायीलाई स्थानीयस्तरमै सम्मानसमेत गरेको छ।
भौगोलिक विकटता र सडक पहुँचको अभाव झेल्दै आएको अपि हिमाल गाउँपालिकाको केन्द्रमा पहिलोपटक सवारीसाधन पुग्नुलाई स्थानीयले विकासको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।