सुर्खेत– १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशमाथि शानदार जित निकालेको छ । शुक्रबार बिहान सम्पन्न प्रतियोगिताको सातौँ खेलमा कोशीले लुम्बिनीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
कोशीको जितमा मिलन राईले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। उनले खेलको १२औँ र ३२औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए। यस्तै अमित सन सतारले १४औँ मिनेटमा र सौरभ लिम्बुले ६४औँ मिनेटमा गोल थपे।
लुम्बिनीका फागुराम चौधरीले खेलको ५९औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
रातो र पहेँलो कार्डका कारण दुवै टोलीका खेलाडी प्रतिबन्धमा:
खेलका क्रममा कोशी प्रदेशका प्रकाश भुजेलले ५८औँ मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। रातो कार्ड पाएका भुजेलले आगामी एक खेल गुमाउने भएका छन्।
यस्तै, लुम्बिनीका फागुराम चौधरीले पनि आगामी खेल खेल्न पाउने छैनन्। उनले यस खेलमा पहेँलो कार्ड पाएका थिए । यसअघि पहिलो खेलमा पनि पहेँलो कार्ड पाएका चौधरीको कार्ड संख्या दुई पुगेपछि उनीमाथि एक खेलको प्रतिबन्ध लागेको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।
यस जितसँगै कोशीले प्रतियोगितामा आफ्नो अंक चार पुर्याएको छ। पहिलो खेलमा बागमती प्रदेशसँग बराबरी खेल्दै एक अंक जोडेको कोशीले दोस्रो खेलमा जित निकाल्न सफल भएको हो।
यता, पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको लुम्बिनीले कोशीसँग पनि हार बेहोरेपछि अंकको खाता खोल्न सकेको छैन।
प्रतियोगिताअन्तर्गत शुक्रबार दिउँसो २ः३० बजे बागमती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।