काठमाडौँ — नेपाल र बंगलादेशबीच आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै व्यापार, ऊर्जा, पर्यटन तथा हवाई सम्पर्कका क्षेत्रमा सहकार्य बढाउने प्रयास अघि बढाइएको छ। यसका लागि दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष साझेदारी र व्यावसायिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
बंगलादेशको प्रमुख बन्दरगाह सहर चट्टोग्राममा बिहीबार साँझ आयोजित ‘नेपाल–बंगलादेश आर्थिक सहकार्य : व्यापार तथा पर्यटन सम्बन्ध सुदृढीकरण’ विषयक कार्यक्रममा नेपाली पक्षले दुई देशका व्यवसायीबीच सहकार्य विस्तारको आवश्यकता औँल्याएको हो।
कार्यक्रममा ढाकास्थित नेपाली राजदूतावासका उपप्रमुख प्रतीक कार्कीले नेपाल र बंगलादेशबीच आर्थिक साझेदारीका क्षेत्रमा निरन्तर प्रगति भइरहेको बताए। उनले व्यापार, ऊर्जा, हवाई सम्पर्क, पर्यटन र जनस्तरको सम्बन्धलाई दुई देशबीच सहकार्य विस्तारका महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे।
कार्कीले चट्टोग्रामका व्यवसायीलाई नेपालको निजी क्षेत्रसँग सहकार्य र साझेदारी अघि बढाउन आग्रहसमेत गरे। दुई देशका व्यवसायीबीच आपसी सम्बन्ध विस्तार हुन सके आर्थिक सहकार्यका नयाँ अवसर सिर्जना हुने उनको भनाइ थियो।
कार्यक्रममा नेपाली दूतावासका प्रथम सचिव योजना बम्जनले नेपाल र बंगलादेशबीच आर्थिक सहकार्यका सम्भावित क्षेत्रबारे जानकारी गराएकी थिइन्। उनले दुवै देशका व्यवसायीबीच साझेदारी विस्तार गर्न सकिने अवसर र सम्भावनाबारे प्रकाश पारेकी थिइन्।
नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार कार्यक्रममा नेपाल र बंगलादेशबीच व्यापार तथा पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।