बालविवाह अन्त्य गर्न सरकारदेखि परिवारसम्मको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य - Chaitanya News
  • 2026-11-27
  • 08:36:08
  • शुक्रबार,मंसिर १२, २०८३
  • बालविवाह अन्त्य गर्न सरकारदेखि परिवारसम्मको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

    बालविवाह अन्त्य गर्न सरकारदेखि परिवारसम्मको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

    दाङ– लुम्बिनी प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश निर्माणलाई प्राथमिकतामा राख्दै प्रदेशका १२ जिल्लाका १०९ वटै स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा उन्मूलनका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

    बालविवाह, कम उमेरमा विवाह तथा जबरजस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह अन्त्यका लागि सरकारी प्रयाससँगै सामाजिक तहबाट पनि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

    उनले बालविवाहलाई बाल अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गर्दै यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, व्यक्तित्व विकास र भविष्यमा प्रत्यक्ष असर पार्ने उल्लेख गरेका छन्।

    बालविवाहमुक्त समाज निर्माणका लागि सरकार, परिवार, समुदाय, विद्यालय, नागरिक समाज तथा अन्य सरोकारवाला पक्ष एकजुट हुनुपर्ने उनको भनाइ छ। बालबालिकालाई सुरक्षित बाल्यकाल, गुणस्तरीय शिक्षा, सम्मानजनक जीवन र उज्ज्वल भविष्य प्रदान गर्नु सबैको साझा दायित्व भएको उनले बताएका छन्।

    मुख्यमन्त्री आचार्यले बालविवाहको अन्त्य कानुनी व्यवस्थाले मात्रै सम्भव नहुने भन्दै सामाजिक चेतना, व्यवहार र सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन्। कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक जागरणमार्फत बालविवाहलाई अस्वीकार्य व्यवहारका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ।

    प्रदेश सरकारले वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत बालविवाहमुक्त प्रदेश निर्माणको अभियानलाई अघि बढाउँदै आएको सन्देशमा उल्लेख छ। चालु आर्थिक वर्षमा १२ जिल्लाका १०९ स्थानीय तहमा बालविवाह न्यूनीकरण तथा उन्मूलनका कार्यक्रम केन्द्रित गरिएको आचार्यले बताएका छन्।

    स्थानीय तह, समुदाय र सरोकारवाला संस्थासँगको सहकार्यमा जनचेतना अभिवृद्धि, बाल अधिकार संरक्षण, किशोरकिशोरीको सशक्तीकरण तथा बालविवाह रोकथामका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले जनाएका छन्।

    बालविवाहमुक्त प्रदेश निर्माण सरकारी प्रयासबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले हरेक घर, परिवार, समुदाय र संस्थाले बालबालिकाको अधिकार तथा भविष्यप्रति जिम्मेवार बन्नुपर्ने बताएका छन्।

    नोभेम्बर २७ अर्थात् बालविवाह, कम उमेरमा विवाह तथा जबरजस्ती विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनले बालबालिकाको अधिकार, सपना र भविष्य सुरक्षित गर्न सामूहिक संकल्पसहित अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।