२१ दिनमा राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा तयार गर्ने सरकारको तयारी, उच्चस्तरीय समिति गठन - Chaitanya News
  • 2026-11-26
  • 17:15:23
  • बिहिबार,मंसिर ११, २०८३
  • २१ दिनमा राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा तयार गर्ने सरकारको तयारी, उच्चस्तरीय समिति गठन

    २१ दिनमा राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा तयार गर्ने सरकारको तयारी, उच्चस्तरीय समिति गठन

    काठमाडौँ– नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन योजनासहित अघि बढाउने लक्ष्यका साथ सरकारले राष्ट्रिय ऊर्जा नीति निर्माणको प्रक्रिया तीव्र बनाएको छ। ऊर्जा क्षेत्रको उत्पादनदेखि व्यापारसम्मका विषयलाई समेटेर नयाँ नीतिगत खाका तयार गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिमा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि तथा विज्ञहरूलाई समेत समेटिएको छ।

    सरकारले समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको अवधारणासहित मस्यौदा तयार गरी पेस गर्न समयसीमा तोकेको छ। छोटो समयसीमा तोक्दै सरकारले ऊर्जा क्षेत्रको विद्यमान अवस्था, बढ्दो आवश्यकता र उपलब्ध सम्भावनालाई समेटेर नीतिगत आधार तयार गर्न खोजेको देखिन्छ।

    नयाँ नीतिमा ऊर्जा उत्पादन, प्रसारण, वितरण, खपत र व्यापारलाई एउटै नीतिगत संरचनाभित्र समेट्ने सरकारको तयारी छ। ऊर्जा क्षेत्रका विभिन्न पक्षलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा अघि बढाउने गरी दीर्घकालीन प्राथमिकता र कार्यदिशा निर्धारण गरिने अपेक्षा गरिएको छ।

    मुलुकमा ऊर्जा उत्पादनको सम्भावना विस्तार हुँदै गएको अवस्थामा त्यसको प्रभावकारी उपयोग, व्यवस्थापन र व्यापारलाई व्यवस्थित बनाउन राष्ट्रिय ऊर्जा नीतिलाई महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ। समितिले तयार पार्ने मस्यौदाले आगामी दिनमा नेपालको ऊर्जा क्षेत्र कुन दिशा र प्राथमिकताका साथ अघि बढ्ने भन्ने विषयलाई नीतिगत रूपमा मार्गनिर्देशन गर्नेछ।