काठमाडौँ– दूरसञ्चार सेवा प्रदायकहरूले सेवा गुणस्तर सुधारका लागि प्रतिबद्धता जनाउने तर व्यवहारमा त्यसअनुसार काम नगर्ने प्रवृत्ति देखिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले कडाइ गरेको छ । प्राधिकरणले निर्धारित मापदण्डअनुसार गुणस्तर सुधारका योजना कार्यान्वयन गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
बिहीबार काठमाडौँमा आयोजित दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सञ्चार सेवाको गुणस्तरसम्बन्धी अन्तरक्रियामा प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले योजना बनाएर मात्रै नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन्।
प्राधिकरणले हरेक आर्थिक वर्ष सेवा प्रदायकसँग गुणस्तर सुधार योजना माग गर्दै आएको छ। ती योजनामा नयाँ टावर निर्माण गर्ने, फ्रिक्वेन्सीको प्रयोग विस्तार गर्ने लगायतका प्रतिबद्धता समेटिए पनि कार्यान्वयनमा भने अपेक्षित प्रगति हुन नसकेको अर्यालले बताए।
उनले प्राधिकरणले निर्धारण गरेको मापदण्ड पालना गर्न सेवा प्रदायकलाई कुनै छुट नरहेको स्पष्ट पारे । सेवा प्रदायकले गुणस्तर सुधारका नाममा प्रतिबद्धता जनाउने तर कार्यान्वयनमा उदासीनता देखाउने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।
८०० किलोमिटरभन्दा बढी क्षेत्रमा गुणस्तर परीक्षण गर्नुपर्ने:
दूरसञ्चार सेवाको वास्तविक अवस्था पत्ता लगाउन सेवा प्रदायकले आफैँ ड्राइभ टेस्ट गरेर त्यसको प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था छ।
तर परीक्षण केवल सहरी क्षेत्रमा सीमित गर्न नपाइने प्राधिकरणले जनाएको छ। कम्तीमा ८०० देखि ९०० किलोमिटर दूरी समेटिने गरी सहरी, ग्रामीण, तराई र दुर्गम हिमाली क्षेत्रसमेत समेटेर परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।
अर्यालका अनुसार गत आर्थिक वर्षमा सेवा प्रदायकहरूले विभिन्न क्षेत्रमा गरेको ड्राइभ टेस्टको प्रतिवेदन प्राधिकरणले प्राप्त गरिसकेको छ।
एक वर्षमा ४३५ उपभोक्ताको गुनासो:
दूरसञ्चार सेवाको गुणस्तरप्रति उपभोक्ताको असन्तुष्टि पनि प्राधिकरणमा दर्ता भएका उजुरीले देखाउँछन्। आर्थिक वर्ष २०८२/८३ मा मात्रै डेटा सेवासम्बन्धी ३३९ र मोबाइल भ्वाइस सेवासम्बन्धी ९६ गरी कुल ४३५ वटा गुनासो दर्ता भएका छन्।
प्राधिकरणका अनुसार प्राप्त सबै गुनासोलाई विद्युतीय गुनासो व्यवस्थापन प्रणालीमार्फत सम्बन्धित सेवा प्रदायककहाँ पठाएर समाधान गरिएको छ।
कानुनी व्यवस्थाअनुसार दूरसञ्चार सेवामा समस्या आए उपभोक्ताले सुरुमा सम्बन्धित सेवा प्रदायकसँग गुनासो गर्नुपर्नेछ । त्यहाँबाट सुनुवाइ नभए प्राधिकरणमा उजुरी गर्न सक्ने व्यवस्था छ।
औपचारिक रूपमा प्राधिकरणमा दर्ता हुने गुनासोको सङ्ख्या कम भए पनि सेवा प्रदायकहरूसमक्ष भने उल्लेख्य गुनासो पुग्ने गरेको अर्यालले बताए। सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट व्यक्त हुने असन्तुष्टिलाई समेत सेवा सुधारको महत्त्वपूर्ण प्रतिक्रियाका रूपमा लिन उनले सेवा प्रदायकहरूलाई आग्रह गरे।
दूरसञ्चार सेवा अहिले अत्यावश्यक सेवाका रूपमा स्थापित भइसकेकाले उपभोक्ताका समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्ने प्राधिकरणको जोड छ। प्रविधिको विकास र अन्तर्राष्ट्रिय अभ्यासअनुसार सेवाको गुणस्तर मापन गर्ने प्रमुख कार्यसम्पादन सूचक (केपीआई) तथा मापदण्डलाई समेत समयानुकूल परिमार्जन गर्दै लगिने अर्यालले बताए ।