काठमाडौँ — आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदान स्थलको पुनरावलोकन प्रक्रिया अघि बढाउने भएको छ। मतदानलाई सहज, व्यवस्थित र मतदातामैत्री बनाउन आयोगले हाल कायम मतदान स्थलहरूको अवस्था पुनः परीक्षण गर्न लागेको हो।
यसका लागि आयोगले सबै स्थानीय तहसँग आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई परिपत्र गर्दै मतदान स्थल पुनरावलोकन कार्यमा आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।
निर्वाचन आयोगको ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समिति’ को बैठकले देशभरका मतदान स्थल पुनरावलोकन गर्ने निर्णय गरेको थियो। निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा रहेको उक्त समितिमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयका सचिव सदस्य छन्।
‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०८१’ अनुसार तयार गरिएको ‘कार्यक्रम कार्यान्वयन योजना, २०८३’ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिहरूलाई पुनरावलोकनको काम अघि बढाउन भनिएको छ।
यसअघि नै आयोगले मंसिर ७ गते गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरी आवश्यक समन्वयका लागि आग्रह गरेको थियो। गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय र भूमि व्यवस्था मन्त्रालयमार्फत स्थानीय तहसँग सहकार्य गर्ने आयोगको योजना छ।
आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखाका उपसचिव युवराज गुरागाईंको हस्ताक्षरमा पठाइएको पत्रका आधारमा मन्त्रालयले स्थानीय तहसम्म समन्वय विस्तार गरेको हो। मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत सुदर्शन दाहालले सोही पत्र संलग्न गरी सबै स्थानीय तहलाई परिपत्र गरेका छन्।
मतदान स्थल पुनरावलोकनको यो प्रक्रिया आगामी स्थानीय तह निर्वाचनको व्यवस्थापकीय तयारीसँग जोडिएको छ। आयोगले देशभरका मतदान स्थलको पुनः परीक्षण गरी निर्वाचन सञ्चालनका लागि आवश्यक समन्वय अघि बढाउन लागेको हो।