काठमाडौँ — नेपालमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीले भोग्दै आएका समस्या पहिचान गरी समाधान गर्ने लक्ष्यसहित ९० दिने कार्ययोजना ल्याउने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले लगानीको वातावरण सुधारका लागि नीतिगत अनिश्चितता, प्रशासनिक जटिलता र सरकारी निर्णय प्रक्रियामा देखिएका ढिलासुस्ती हटाउन कार्ययोजना बनाएर अघि बढ्ने बताएका हुन्।
यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै मन्त्री साहले विश्व अर्थतन्त्रमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले पनि परम्परागत सोच र सरकारी कार्यशैली परिवर्तन गर्नुपर्ने बताए । प्राकृतिक स्रोत र बजारको सम्भावना मात्रै लगानी भित्र्याउन पर्याप्त नहुने भन्दै उनले लगानीकर्ताको विश्वास जित्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
मन्त्री साहका अनुसार प्रस्तावित कार्ययोजनाको पहिलो ३० दिनमा बेलायती तथा नेपाली व्यवसायीले उठाएका प्रमुख समस्या, लगानीका प्रस्ताव र नीतिगत तथा नियामकीय अवरोध पहिचान गरिनेछ। त्यसपछिको ६० दिनमा उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरी समस्या समाधानका उपाय खोजिनेछ।
९० दिनभित्र सुधारका प्राथमिकता, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र प्रगति मापनका सूचकसमेत निर्धारण गरी कार्यान्वयन तथा अनुगमन अघि बढाउने तयारी रहेको उनले जानकारी दिए।
सरकारी कामको प्रभावकारिता बैठक र छलफलको संख्याले नभई व्यवसायीका समस्या कति समाधान भए भन्ने आधारमा मूल्यांकन हुनुपर्ने उनको भनाइ छ। ‘हाम्रो सफलताको मापन हामीले कति बैठक गर्यौँ भन्ने आधारमा होइन, कति अवरोध हटायौँ, कति लगानी सहजीकरण गर्यौँ र कति रोजगारी सिर्जना गर्यौँ भन्ने आधारमा हुनुपर्छ,’ उनले भने।
मन्त्री साहले नेपाल र बेलायतबीच लामो समयदेखि कायम मित्रता तथा सहकार्यलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता पनि औँल्याए। ऐतिहासिक सम्बन्धलाई लगानी विस्तार र आर्थिक विकासको आधार बनाउन सकिने उल्लेख गर्दै उनले जलविद्युत्, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, हरित प्रविधि, उत्पादनमूलक उद्योग, दिगो पूर्वाधार र सेवा क्षेत्रमा बेलायती लगानीको सम्भावना रहेको बताए।
त्यस्तै नेपाली पस्मिना, गलैँचा, फेल्टजन्य सामग्री, तयारी पोसाक, हस्तकला, परम्परागत वाद्यवादन तथा जडीबुटीजन्य उत्पादनले बेलायती बजारमा थप अवसर पाउन सक्ने उनको भनाइ छ।
नेपालमा लगानीको सम्भावना भए पनि नीतिगत अनिश्चितता र प्रशासनिक जटिलताले अपेक्षित लगानी भित्र्याउन चुनौती थपेको मन्त्री साहले स्वीकार गरे। व्यवसायीले उठाउँदै आएका दोहोरो कराधान, कर नीतिको स्थिरता, मुनाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको संरक्षण र निर्यात सहजीकरणका विषयलाई सरकारले प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता जनाए।
विशेषगरी नेपाल र बेलायतबीच प्रस्तावित दोहोरो कराधान उन्मुक्ति सम्झौता (डीटीएए) अघि बढाउन आफ्नो मन्त्रालयले अर्थ मन्त्रालय, सम्बन्धित सरकारी निकाय र बेलायती पक्षसँग समन्वय गर्ने उनले बताए। उक्त सम्झौताले दुवै देशका लगानीकर्तालाई दोहोरो करको भारबाट राहत दिनुका साथै कर प्रणालीप्रति स्पष्टता र विश्वास बढाउने उनको अपेक्षा छ।
मन्त्री साहले बेलायती कम्पनीहरूलाई नेपालमा संयुक्त लगानी, प्रविधि हस्तान्तरण तथा उत्पादनमूलक उद्योगलगायत सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरे। बेलायतमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तालाई पनि आफ्नो पुँजी, अनुभव, दक्षता र प्रविधि नेपालको आर्थिक विकासमा उपयोग गर्न आह्वान गरे।
सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै पारदर्शी, स्थिर र विश्वासयोग्य व्यावसायिक वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले लगानी र नवप्रवर्तनलाई आर्थिक विकासको महत्वपूर्ण आधार बनाउनुपर्ने बताए ।