काठमाडौं — कृषि, पशुपन्छी, दुग्ध, चिया, कफी तथा वनस्पतिसम्बन्धी क्षेत्रका विभिन्न सरकारी निकायमा प्रतिनिधित्वका लागि पर्याप्त आवेदन नपरेपछि सरकारले पुनः अवसर खुलाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले मातहतका छ वटा परिषद् तथा समितिमा रिक्त रहेका २६ सदस्य पदमा मनोनयनका लागि दोस्रोपटक आवेदन आह्वान गरेको हो।
मन्त्रालयले यसअघि गत कात्तिक २० गते आवेदन माग गर्दै सूचना जारी गरेको थियो। तर तोकिएका पदका लागि पर्याप्त आवेदन नपरेपछि मङ्सिर ७ गते पुनः सूचना जारी गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरिएको हो।
मन्त्रालयअन्तर्गत राष्ट्रिय बीउ बिजन समिति, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्, नेपाल पशु चिकित्सा परिषद् र प्लान्ट क्वारेन्टाइन समितिमा सदस्य पद रिक्त छन्।
यी निकायमा राष्ट्रिय बीउ बिजन समितिका आठ, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समितिका पाँच, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी समितिका चार, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का दुई, नेपाल पशु चिकित्सा परिषद्का दुई र प्लान्ट क्वारेन्टाइन समितिका पाँच सदस्य पदमा मनोनयन गर्न लागिएको हो।
राष्ट्रिय बीउ बिजन समितिमा बागवानी, खाद्यान्न तथा घाँसेबाली विज्ञानका तीन विषयविज्ञ, कृषि तथा पशु विज्ञान विश्वविद्यालयका कम्तीमा सहप्राध्यापकस्तरका एक बीउ विशेषज्ञ, दुई बीउ बिजन उद्यमी तथा उत्पादक र कृषक समूहबाट दुई जना प्रतिनिधि चयन गरिनेछ। यसमा विषयविज्ञ, उद्यमी तथा उत्पादक र कृषक समूहबाट कम्तीमा एक–एक जना महिला हुनुपर्ने व्यवस्था छ।
त्यस्तै, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समितिमा सार्वजनिक–निजी साझेदारीमा सञ्चालित दुग्धजन्य पशुपालन फर्मका सञ्चालकमध्येबाट एक जना र पेशागत वा विषय विशेषज्ञमध्येबाट चार जना सदस्य मनोनयन गरिनेछ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी समितिमा निजी तथा साना चिया र कफी किसानको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी दुवै क्षेत्रबाट एक–एक जना गरी चार सदस्य चयन हुनेछन्।
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा सम्बन्धित व्यवसायीमध्येबाट कम्तीमा एक महिलासहित दुई जना तथा नेपाल पशु चिकित्सा परिषद्मा कम्तीमा ‘ख’ श्रेणीका दर्तावाल दुई जना पशु चिकित्सक मनोनयन गरिने मन्त्रालयले जनाएको छ।
प्लान्ट क्वारेन्टाइन समितिमा भने कम्तीमा एक महिलासहित दुई जना विशेषज्ञ र विषयगत अनुभव भएका कृषक, कृषि व्यवसायी वा कृषि उद्यमीमध्येबाट कम्तीमा एक महिलासहित तीन जना सदस्य चयन गरिनेछ।
मन्त्रालयले सम्बन्धित ऐनमा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई २०८३ मङ्सिर १४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ। इच्छुक व्यक्तिले मन्त्रालयको सूचनामा उपलब्ध गराइएको गुगल फारामको लिंक वा क्युआर कोड प्रयोग गरी आवेदन दिन सक्नेछन्।
कृषि तथा पशुपन्छी क्षेत्रका नीतिगत निर्णय, प्राविधिक सुझाव र क्षेत्रगत प्रतिनिधित्वमा महत्वपूर्ण भूमिका रहने यी निकायमा लामो समयदेखि रिक्त रहेका पद पूर्ति गर्न मन्त्रालयले पुनः आवेदन खुलाएको हो। अब दोस्रोपटकको सूचनापछि आवश्यक संख्यामा योग्य उम्मेदवारको आवेदन पर्ने र मनोनयन प्रक्रिया अघि बढ्ने मन्त्रालयको अपेक्षा छ।
