काठमाडौं — आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई नयाँ ढाँचामा अघि बढाउने तयारी गरेको छ। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो।
प्रस्तावित संशोधनले स्वास्थ्य बीमाको दायरा विस्तार गर्नेदेखि आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले बेहोर्ने व्यवस्थासम्मका विषयलाई प्राथमिकता दिएको छ। सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई समेत बीमाको दायरामा समेट्ने गरी कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा बिहीबार मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग यस विषयमा थप छलफल भएको छ। यसअघि पनि मन्त्री मेहताको नेतृत्वमा विभिन्न निकाय र सरोकारवालासँग चरणबद्ध छलफल हुँदै आएको थियो।
मन्त्रालयले आवश्यक छलफल र गृहकार्य पूरा गरी स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार पारेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि विधेयक छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी गरिएको छ।
प्रस्तावित संशोधनको अर्को महत्वपूर्ण पक्ष स्वास्थ्य उपचार सुविधासम्बन्धी विभिन्न सरकारी प्रणालीबीच समन्वय र एकीकरण गर्नु हो। स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधालाई व्यवस्थित गर्दै दोहोरोपन हटाउने र सेवा प्रवाहलाई सहज बनाउने योजना अघि सारिएको छ।
त्यस्तै, स्वास्थ्य बीमामा योगदान संकलन र स्वास्थ्य संस्थालाई सेवा भुक्तानी गर्ने प्रणालीलाई व्यवस्थित बनाउने प्रस्ताव पनि संशोधनमा समेटिएको छ। स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने, अनावश्यक परीक्षण रोक्ने र अनुचित दाबी नियन्त्रण गर्ने व्यवस्थामार्फत बीमा कार्यक्रमको वित्तीय भार व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।
सरकारले स्वास्थ्य बीमालाई केवल उपचार खर्च व्यवस्थापन गर्ने कार्यक्रमका रूपमा नभई नागरिकको समग्र स्वास्थ्य सुरक्षासँग जोडिएको सामाजिक सुरक्षाको महत्वपूर्ण आधारका रूपमा विकास गर्न खोजेको छ।
मन्त्री मेहताका अनुसार आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता हो। त्यसका लागि स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तारसँगै यसको वित्तीय तथा संस्थागत संरचनामा सुधार आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन योगदान गर्न सक्ने नागरिकलाई प्रणालीमा समेट्ने र योगदान गर्न नसक्ने नागरिकको जिम्मेवारी राज्यले लिने व्यवस्था महत्वपूर्ण हुने देखिएको छ।
अब प्रस्तावित विधेयक संसद्मा दर्ता भएपछि त्यसमा हुने छलफल र पारित हुने कानुनी व्यवस्थाले स्वास्थ्य बीमाको आगामी स्वरूप निर्धारण गर्नेछ। संशोधनले परिकल्पना गरेका व्यवस्था कार्यान्वयनमा आए स्वास्थ्य उपचारमा आर्थिक पहुँचको समस्या भोगिरहेका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।