धनगढीः भूमिहीन तथा अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि धनगढी उपमहानगरपालिकाले पहिचान तथा प्रमाणीकरणको काम अघि बढाएको छ।
भूमि आयोगले यसअघि धनगढी उपमहानगरपालिकालाई लगत सङ्कलन तथा प्रविष्टि, बस्तीको तहगत क्षेत्र निर्धारण र नापीको जिम्मेवारी दिएको थियो। उपमहानगरपालिकाले आयोगबाट प्राप्त जिम्मेवारीअनुसार ती सबै काम सम्पन्न गरी विवरण जिल्ला समितिमा पठाइसकेको थियो।
त्यसपछि आयोगले पुनः व्यक्तिको पहिचान तथा प्रमाणीकरण गरी विवरण पठाउन उपमहानगरपालिकालाई पत्राचार गरेको थियो। सोहीअनुसार उपमहानगरपालिकाले वडा नम्बर २, ७, ८, ९ र १७ का भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान तथा प्रमाणीकरण गरी विवरण आयोगमा पठाइसकेको जनाएको छ।
उपमहानगरपालिकाले अन्य वडामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई आफ्नो विवरण प्रमाणीकरणका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
वडा कार्यालयबाट व्यक्तिको पहिचानसम्बन्धी फाइल कार्यपालिकामा प्राप्त भएपछि बैठकबाट निर्णय गराई भूमि समस्या समाधान जिल्ला समिति कैलालीमा पठाइने नगरप्रमुख गोपाल हमालले बताएका छन्।
उपमहानगरपालिकाले बाँकी वडामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान तथा प्रमाणीकरण प्रक्रिया पनि अघि बढाइसकेको जनाएको छ।