धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने ट्रफी टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा पुर्याइने भएको छ।
सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्याउन लागिएको जानकारी दिए। उपाधि जितेको खुसी समर्थक तथा स्थानीय समुदायसँग साटासाट गर्ने उद्देश्यले ट्रफी टूर आयोजना गर्न लागिएको उनले बताए।
ट्रफी टूर मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुनेछ। बिहान ८:३० बजे अछामको बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म र्याली निकालिनेछ। सोही दिन दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्याली आयोजना हुनेछ।
मंसिर १४ गते डोटी र डडेल्धुरामा ट्रफी टूरका कार्यक्रम हुनेछन्। बिहान ९ बजे डोटीको शैलेश्वरी मन्दिरमा ट्रफी पुर्याइनेछ। बिहान १० देखि १२ बजेसम्म शैलेश्वरी मन्दिरदेखि दिपायल बजारसम्म र्याली निकालिनेछ। दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्याली आयोजना हुनेछ भने साँझ ६:३० बजे उग्रतारा मन्दिरमा पूजा गरिने कार्यक्रम छ।
मंसिर १५ गते बैतडी र १६ गते दार्चुलामा ट्रफी टूर हुनेछ। मंसिर १५ गते बिहान ८:३० बजे बैतडीको निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म गोठलापानीमा र्याली निकालिनेछ। मंसिर १६ गते बिहान ८:३० बजे दार्चुलाको मालिकार्जुन मन्दिरमा ट्रफी पुर्याइनेछ। त्यसपछि बिहान ९:३० देखि ११:३० बजेसम्म खलंगा बजारमा र्याली आयोजना हुनेछ।
मंसिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८:३० देखि १०:३० बजेसम्म र्याली निकालिनेछ। त्यस्तै, मंसिर १८ गते दिउँसो १२:३० बजे डडेल्धुराको परशुराम धाममा ट्रफी पुर्याउने कार्यक्रम तय गरिएको छ।
मंसिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी टूरका कार्यक्रम हुनेछन्। बिहान ८:३० बजे कैलालीको टीकापुर पार्कमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान १० बजे चिसापानी, ११:३० बजे लम्की, १२:३० बजे घोडाघोडी ताल र दिउँसो २ बजे अत्तरियामा ट्रफी पुर्याइनेछ। सोही दिन दिउँसो ४ देखि ६ बजेसम्म कञ्चनपुरको महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म र्याली निकालिनेछ।
ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा विशेष कार्यक्रम आयोजना हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म धनगढी चौराहादेखि महोत्सव मैदानसम्म र्याली निकालिनेछ। साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूरको समापन गरिने सुदूरपश्चिम रोयल्सले जनाएको छ।