तराईमा हुस्सु र तुवाँलो, पहाडी क्षेत्रमा आंशिक बदली हुने - Chaitanya News
  • 2026-11-26
  • 08:55:17
  • बिहिबार,मंसिर ११, २०८३
  • तराईमा हुस्सु र तुवाँलो, पहाडी क्षेत्रमा आंशिक बदली हुने

    तराईमा हुस्सु र तुवाँलो, पहाडी क्षेत्रमा आंशिक बदली हुने

    काठमाडौँ — देशका अधिकांश स्थानमा आज मौसम मुख्यतया सफा रहने भएको छ। तराईका केही जिल्लामा भने बिहानैदेखि हुस्सु तथा तुवाँलो लागेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन। बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो देखिएको छ भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    महाशाखाले आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

    आज राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य प्रदेश तथा भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    यसैबीच, भोलि बिहान काठमाडौँ उपत्यका तथा खोँचका साथै तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

    महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार तत्काल देशभर मौसममा ठूलो परिवर्तन ल्याउने खालको मौसमी प्रणाली सक्रिय नरहे पनि बिहानको समयमा तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको प्रभाव देखिन सक्नेछ।