लक्ष्यभन्दा राम्रो नतिजा : विद्युत् चुहावट १२.१६ प्रतिशतमा झार्न ऊर्जा मन्त्रालय सफल - Chaitanya News
  • 2026-11-25
  • 16:58:07
  • बुधबार,मंसिर १०, २०८३
  • लक्ष्यभन्दा राम्रो नतिजा : विद्युत् चुहावट १२.१६ प्रतिशतमा झार्न ऊर्जा मन्त्रालय सफल

    लक्ष्यभन्दा राम्रो नतिजा : विद्युत् चुहावट १२.१६ प्रतिशतमा झार्न ऊर्जा मन्त्रालय सफल

    काठमाडौँ — विद्युत् चुहावट नियन्त्रणमा सरकारले अपेक्षाभन्दा राम्रो नतिजा हासिल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु प्रयासलाई तीव्र बनाउँदै विद्युत् चुहावट १२.१६ प्रतिशतमा झारेको हो । सरकारले निर्धारण गरेको १२.२० प्रतिशतको लक्ष्यलाई समेत उछिन्दै मन्त्रालयले चुहावट नियन्त्रणमा प्रगति गरेको छ ।

    विद्युत् चुहावट घटाउने अभियानलाई प्रभावकारी बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नीतिगत सुधार, प्राविधिक जनशक्तिको परिचालन र व्यवस्थापकीय पक्षलाई प्राथमिकतामा राखेका थिए । सोहीअनुसार विद्युत् वितरण प्रणालीमा देखिएका समस्या पहिचान तथा समाधान गर्ने, नेटवर्क स्तरोन्नति गर्ने र मर्मतसम्भारलाई प्रभावकारी बनाउने काम अघि बढाइएको मन्त्रालयको भनाइ छ ।

    नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा सीमित भएको छ । यससँगै प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई दिएको १२.२० प्रतिशतको लक्ष्य पनि पूरा भएको छ ।

    चुहावट नियन्त्रणमा आएको सुधारलाई मन्त्रालयले प्राविधिक तथा व्यवस्थापकीय सक्रियताको परिणामका रूपमा लिएको छ । विद्युत् प्रणालीमा समस्या देखिनासाथ तत्काल प्राविधिक टोली परिचालन गर्ने र मर्मतसम्भारलाई प्राथमिकता दिने अभ्यासले चुहावट घटाउन सहयोग पुगेको बताइएको छ ।

    प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा हुने ढिलाइ, प्राविधिक कमजोरी तथा लोड व्यवस्थापनमा देखिने समस्याका कारण विद्युत् चुहावट हुने गर्छ । यस्ता समस्या नियन्त्रण गर्न नियमित अनुगमन, प्राविधिक सुधार र प्रभावकारी व्यवस्थापन आवश्यक हुन्छ ।

    मन्त्रालयले विद्युत् नेटवर्कको स्तरोन्नति, वितरण प्रणालीको सुधार, समयमै मर्मतसम्भार तथा दक्ष प्राविधिक जनशक्तिको परिचालनलाई तीव्रता दिएको जनाएको छ । आगामी दिनमा चुहावटलाई अझै घटाउने लक्ष्यसहित प्राविधिक र प्रशासनिक दुवै पक्षलाई थप चुस्त बनाइने मन्त्री श्रेष्ठले बताएका छन् ।

    दक्षिण एसियाली मुलुकहरूको औसत विद्युत् चुहावट १३.८ प्रतिशत रहेको अन्तर्राष्ट्रिय तथ्यांकले देखाउँछ । यस्तो अवस्थामा नेपालको चुहावट १२.१६ प्रतिशतमा झर्नुलाई क्षेत्रीय औसतभन्दा कम चुहावट कायम गर्ने उपलब्धिका रूपमा हेरिएको छ ।

    यद्यपि, विद्युत् चुहावटलाई थप घटाउन चोरी नियन्त्रणसँगै प्रसारण तथा वितरण पूर्वाधारको सुधार र दीर्घकालीन व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने चुनौती भने कायमै छ ।